आज:  | Mon, 04, May, 2026

दिगो भविष्यका लागि हरित विद्यालय अभियान बारे वीरगञ्जमा अभिमुखीकरण

Avatar photo दिशा निर्देश १४ मंसिर २०८२, शनिबार १८:१० मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज। स्थानीयस्तरमा दिगो शिक्षा र वातावरण संरक्षणलाई जोड दिने लक्ष्यसहित ‘कारखाना समूह’ले बारा, पर्सा र रौतहटका सिभिल सोसाइटी संस्थाहरुसँग मिलेर वीरगञ्जमा दुईदिने हरित विद्यालय केन्द्रित कार्यक्रम सुरु गरेको छ।

पहिलो दिन वातावरणीय चेतना, जलवायु परिवर्तनका चुनौती र हरित विद्यालयका आधारभूत अवधारणामाथि प्रशिक्षण दिइयो भने भोलि दोस्रो दिन सहभागिहरूलाई एआईका व्यवहारिक प्रयोगबारे तालिम दिइने कारखाना समूह’का निरज कुमार मिश्रले बताए।

कार्यक्रममा वन्यजन्तु संरक्षण संघ नेपालका राजेश्वर रिजाल र बृन्दा देवानले बालबालिका र प्रकृतिबीच बढ्दो दुरीले शारीरिक, मानसिक तथा सामाजिक पक्षमा परेको असरबारे चर्चा गरे। उनीहरूले विद्यालयमार्फत वातावरण शिक्षा प्रभावकारी ढंगले लागू गर्न सकिएको खण्डमा दीगो भविष्यका लागि महत्वपूर्ण आधार तयार हुने बताए। वातावरणीय समस्याहरू बढ्दो अवस्थामा रहेको बेला विद्यार्थी नै सबैभन्दा प्रभावकारी सचेतना वाहक बन्न सक्ने उनीहरूको धारणा थियो।

कार्यक्रममा ‘हरित विद्यालय निर्देशिका २०७५’मा समेटिएका विषयहरू प्रस्तुत गरिएको थियो । फोहोर व्यवस्थापन, आकाशे पानी संकलन, ऊर्जा–मैत्री पूर्वाधार, ईको क्लबको स्थापना, करेसा बारी तथा आधुनिक खेतीजस्ता व्यवहारिक अभ्यासलाई विद्यालयमै लागू गर्न सकिने उपाय सहभागीहरूसँग साझा गरिएको थियो ।

समूहगत छलफलमा सिएसओहरूले स्थानीय सरकार, विद्यालय, अभिभावक, विद्यार्थी र समुदायबीच बलियो समन्वय आवश्यक रहेको निष्कर्ष निकाल्दै कार्ययोजना निर्माणदेखि अनुगमन र वार्षिक समीक्षा कार्यक्रमसम्म नियमित प्रक्रिया अपनाउनुपर्ने सुझाए।

कारखाना समूहले यस्ता कार्यक्रमले विद्यालयलाई मात्र होइन, समुदायलाई समेत दिगो अभ्यासतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ। भोलि सञ्चालन हुने एआईकेन्द्रित सत्रले सहभागी संस्थाहरूलाई प्रविधि र वातावरण दुवै क्षेत्रमा अझ प्रभावकारी बन्न सहयोग गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित खबरहरु