वीरगन्ज । पर्सामा शिक्षक पत्रकार समूह गठन भएको छ। शनिबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष ओमप्रकाश खनालले समूह गठन घोषणा गरे।
समूहको अध्यक्षमा प्रमोद यादव चयन भएका छन्। उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली, सचिवमा माधुरी महतो, सह–सचिवमा बलिराम यादव र कोषाध्यक्षमा राजकुमारी यादव जिम्मेवारी पाएका छन्। सदस्यहरूमा आंशु सर्राफ, विनोद यादव, अनिता कुवँर, एन्जल चौधरीलगायत रहेका छन्। सल्लाहकार समितिमा शंकर आचार्य, तुलसी भण्डारी, भूषण यादव, क्रान्ति शाह र विजय महतो समावेश छन्।
कार्यक्रममा नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार सुधार भए पनि विषयगत शिक्षकको अभावले गुणस्तरमा अपेक्षित वृद्धि हुन नसकेको बताए। पछिल्लो समय युट्युबरको गतिविधि बढ्दा विद्यालयमा काम गर्ने वातावरण कमजोर बनेको भन्दै उनले चिन्ता व्यक्त गरे।
उपप्राध्यापक डाक्टर सुष्मा तिवारीले मधेस प्रदेशको साक्षरता दर ६९ प्रतिशत मात्र भएको उल्लेख गर्दै वीरगन्ज महानगरका सामुदायिक विद्यालयमा शिक्षक अभाव, कमजोर पूर्वाधार, शौचालय समस्या र कम्प्युटर प्रयोग गर्न नजान्ने जनशक्तिको कारण सिकाइ प्रभावमा चुनौती रहेको बताइन्।
शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख मोती प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक महासंघ वीरगन्ज महानगरका अध्यक्ष प्रदीप जयसवाललगायतको उपस्थिति थियो।
