वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले हालै विभिन्न स्थानबाट बरामद गरेका करिब ५७ लाख रुपैयाँभन्दा बढीका अवैध सामानहरू भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीको विशेष सूचनाका आधारमा प्र.सि.सु.गुल्म वीरगञ्जबाट स.प्र.ना.उ. पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयका ना.सु. हफिजुल्ला अन्सारीसहितको संयुक्त टोलीले वीरगञ्ज–१०, आदर्शनगरस्थित वडा कार्यालयको दक्षिणपट्टि रहेको पुरानो घरबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी ५४ लाख २८ हजार ६ सय रुपैयाँबराबरका किराना तथा औषधि बरामद गरेको छ। बरामद सामग्री भन्सार प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको छ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वाबाट खटिएको टोलीले विभिन्न स्थानमा गरी करिब ३ लाख ३९ हजार १७५ रुपैयाँ बराबरका किराना, कपडा र हार्डवेयरका सामान बरामद गरी भन्सार कार्यालय बुझाएको छ।
सोही क्रममा छिन्नमस्ता बाहिनी मुख्यालयको सूचनामा काम गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण, बाराले मंसिर ३ गते बारा, विश्रामपुर–४ बाट अवैध कारोबारको आशंकामा १० लाख ८० हजार रुपैयाँ र मंसिर ५ गते सोही स्थानबाट थप ६ लाख १५ हजार रुपैयाँ बरामद गरेर भन्सार कार्यालय बुझाएको छ।
मंसिर ३ गते प्र.सि.सु.गुल्म वीरगञ्जले पनि बीरगञ्ज महानगरपालिका–१६, भन्सार मेन गेटबाट ३ लाख रुपैयाँ बरामद गरी भन्सार कार्यालयमा बुझाएको थियो। मंसिर ३ र ५ गते गरी कुल १९ लाख ९५ हजार रुपैयाँ अवैध रकम बरामद भएको छ।
सशस्त्र प्रहरी बल पर्साले सीमा क्षेत्रमा अवैध चोरी–पैठारी रोक्न टोली परिचालन थप कडाइका साथ जारी राखेको जनाएको छ। बलले खुला सीमा दुरुपयोग गरी हुने अवैध रकम ओसारपसार, लागू पदार्थ व्यापार, अवैध हातहतियार ओसारपसारलगायतका गतिविधि नियन्त्रणमा आफू सक्रिय रहेको बताएको छ।
स.प्र.बल नेपाल नं. १३ गणका गणपति पुरन चन्द्र भट्टका अनुसार अवैध निकासी–पैठारी रोक्न कुनै कसर बाँकी नराख्ने र सीमावर्ती बस्तीमा राजस्वको महत्त्वबारे जनचेतनामूलक कार्यक्रम अभियानकै रूपमा चलाइनेछ।
सुचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनका अनुसार सशस्त्र प्रहरीले सीमा सुरक्षामा निरन्तर कडाइ अपनाएको छ र आगामी दिनमा विभिन्न सरोकारवालासँग समन्वय अझै बढाइनेछ।
