वीरगञ्ज । यातायात व्यवस्था विभागले अब छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण फेसबुकमार्फत सार्वजनिक गर्ने भएको छ।
विभागले हिजो सूचना जारी गर्दै सुरक्षा मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भएर विभागमा प्राप्त भएका लाइसेन्सहरूको नामावली आधिकारिक फेसबुक पेज ‘Hello यातायात व्यवस्था विभाग’ मा प्रकाशित गरिने जनाएको छ।
यसअघि सम्बन्धित व्यक्तिहरूलाई प्रणालीमार्फत सन्देश पठाई ७२ घण्टाभित्र लाइसेन्स लिन आउन अनुरोध गरिँदै आएको थियो। अब भने फेसबुकमा आफ्नो नाम समावेश भएको सार्वजनिक सूची हेरेपछि सेवाग्राहीले सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिएर विभागमा उपस्थित हुन विभागले आग्रह गरेको छ।
