आज:  | Fri, 01, May, 2026

विवाह पञ्चमी अन्तर्गत आज फूलवारी लिला गरिँदै

Avatar photo दिशा निर्देश ६ मंसिर २०८२, शुक्रबार ०९:४२ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज जनकपुरधाममा फूलवारी लिला आयोजना हुँदैछ। राम–सीताको बाल्यकालको पहिलो भेट भएको प्रसंगलाई आजको दिन नाट्यमय ढंगले प्रस्तुत गरिन्छ।

जनकपुरको प्रसिद्ध फूलबारी क्षेत्रमा सीता खेल्न जाने क्रममा रामसँग पहिलो पटक भेट हुन्छ भन्ने कथालाई नाटक, गीत, भजन र झाँकीमार्फत दृश्यात्मक रूपमा देखाइनेछ। स्थानीय कलाकार, भक्तजन तथा सांस्कृतिक समूहहरूले राम–सीताको भेट, आकर्षण र भावनात्मक प्रसंगलाई सजीव अभिनयमार्फत प्रस्तुत गर्ने तयारी गरेका छन्।

सप्ताहव्यापी धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको विवाह पञ्चमी महोत्सवका कारण जनकपुरधाम मंगलमय बनेको छ। जानकी मन्दिरलाई वैवाहिक मण्डपझैँ भव्य रूपमा सजिएको छ। मन्दिर परिसरमा सरसफाइ, पण्डाल निर्माण, झिलिमिली बत्ती, मञ्च निर्माण र विभिन्न सांस्कृतिक संरचनाले वातावरणलाई झनै आकर्षक बनाएको छ।

जानकी मन्दिरले सार्वजनिक गरेको तालिका अनुसार भोलि धनुषा यज्ञ, पर्सि तिलकोत्सव, सोमबार मटकोर, मंगलबार स्वयंवर तथा शुभ विवाह, र बुधबार रामकलेवापछि महोत्सव समापन हुनेछ।

भारतको बिहार, उत्तर प्रदेश, राजस्थानसहित नेपालको सातै प्रदेशबाट ठूलो संख्यामा हिन्दू धर्मालम्बी जनकपुर आउने क्रम जारी छ। यो महोत्सव क्षेत्रीय धार्मिक पर्यटनको प्रमुख केन्द्र बनेको छ।


सम्बन्धित खबरहरु