आज:  | Fri, 01, May, 2026

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने

Avatar photo दिशा निर्देश ६ मंसिर २०८२, शुक्रबार ०९:३७ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दिउँसो ४ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेललाई दुवै टोलीका कप्तानको क्षमताका कारण विशेष रूपमा रोचक मानिएको छ।

पोखरा एभेन्जर्स नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिनेछ। अघिल्लो खेलमा उनले प्रहार गरेको शक्तिशाली सिक्सले स्टार स्पोर्ट्सको कमेन्टरी बक्सको सिसासमेत फुटेको थियो। उता सुदूरपश्चिम रोयल्स भने राष्ट्रिय टिमका उपकप्तान तथा उत्कृष्ट अलराउन्डर दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ। बल, ब्याटिङ र फिल्डिङ—तीनै विभागमा प्रभावशाली प्रदर्शन गर्ने दीपेन्द्रको नेतृत्वसहित सुदूरपश्चिम बलियो मोर्चामा देखिएको छ।

एनपीएलमा एक–एक खेल खेलेका विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुई–दुई अंक जोडिसकेका छन्। दुई खेल खेलेका काठमाण्डु र चितवनकासँग पनि दुई–दुई अंक छ। जनकपुर, पोखरा र कर्णाली भने अझै अंकविहीन छन्। पोखरा आजको खेलमा पहिलो जित दर्ता गर्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ भने अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम दोस्रो जितको खोजीमा हुनेछ।

मंसिर १ गतेदेखि सुरु भएको एनपीएल आगामी २७ गतेसम्म चल्नेछ। सबै खेल त्रिवि क्रिकेट मैदानमै दिउँसो र राति गरी आयोजना भइरहेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले प्रत्येक खेलका लागि ९ हजार ४५० वटा टिकट बिक्रीमा राखेको छ।

प्रतियोगितामा लिग चरण, तीन प्लेअफ र फाइनलसहित ३२ खेलको आयोजना हुनेछ। शनिबारका लागि साधारण टिकट मूल्य ५ सय र प्रिमियम टिकट १५ सय तोकिएको छ। अन्य दिनको खेलमा साधारण ५ सय र प्रिमियम १ हजार रुपैयाँ परेको छ। प्लेअफपछि हुने खेलमा जनरल टिकट १ हजार र प्रिमियम टिकट २ हजार मुल्य निर्धारण गरिएको छ। क्यानले सिजनल टिकटको मूल्य १५ हजार रुपैयाँ तय गरेको छ।

एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्।


सम्बन्धित खबरहरु