वीरगञ्ज। आजदेखि सुरु हुन लागेको सीताराम विवाह पञ्चमी महामहोत्सवले पूरा जनकपुर शहर उत्सवमय बनेको छ।
नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा प्रारम्भ हुँदैछ। जानकी मन्दिर परिसर, रङ्गभूमि मैदान र बाह्रबिघा क्षेत्रलगायत प्रमुख स्थानमा अन्तिम तयारी तीव्रगतिमा जारी छ।
जानकी मन्दिर व्यवस्थापनका अनुसार सरसफाइ, पण्डाल निर्माण, झिलिमिली बत्ती, र सिङ्गारिएको गल्ली–टोलले शहरलाई झनै आकर्षक बनाइरहेको छ। मुख्य चोकदेखि भित्री गल्लीसम्म विद्युत् सजावटले जनकपुर राति–दिनै उज्यालो र उत्साहले भरिएको देखिन्छ।
तर यसपालि कुनै सरकारी सहयोग नपाएको भन्दै जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले चिन्ता व्यक्त गर्नुभएको छ। विगतका वर्षमा आर्थिक तथा व्यवस्थापकीय सहायता प्राप्त गर्दै आएको मन्दिर व्यवस्थापन यस वर्ष भने पूरै आफ्नै स्रोतमा महोत्सव सञ्चालन गर्न बाध्य भएको छ।
यसैबीच अयोध्या, ऋषिकेश, हरिद्वारलगायत भारतका प्रमुख धार्मिक केन्द्रबाट ठूलो संख्यामा साधु–सन्त, योगी, महन्त, सन्यासी, भिक्षु र भिक्षुणी जनकपुर आइपुग्न थालेका छन्। नेपाल–भारतबीचको साँस्कृतिक र धार्मिक सम्बन्ध मजबुत बनाउँदै आएको यो पर्व मिथिलाञ्चलको प्रतिष्ठासँग जोडिएको छ।
आजदेखि सुरु भएको महोत्सवअन्तर्गत क्रमिक रूपमा फूलबारी लिला (शुक्रबार), धनुषयज्ञ (मंसिर ६), तिलकोत्सव (७), मटकोर (८), स्वयंवर तथा शुभ विवाह (९) र रामकलेवा विधिसहित समापन (१०) कार्यक्रम आयोजना हुने छ।
मंसिर शुक्ल पञ्चमीमा मनाइने यस पर्वमा नेपाल–भारतका विभिन्न स्थानबाट हरेक वर्ष लाखौँ भक्तजन जनकपुरधाम आउँछन्।
यस वर्ष पनि ठूलो संख्यामा भक्तजन आउने उच्च अपेक्षा गरिएको छ।
