वीरगञ्ज । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। सोमबार भएको उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई पाँच विकेटले पराजित गर्दै उच्च मनोबलमा रहेको काठमाण्डु आज दोस्रो जितका लागि मैदान उतर्नेछ। साविक उपविजेता सुदूरपश्चिम पनि विजयी यात्रालाई निरन्तरता दिन उत्सुक छ।
दुवै टोलीबीचको खेल बुधबार दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ। काठमाण्डुको नेतृत्व करण केसीले गरिरहेका छन् भने सुदूरपश्चिमको कप्तानी बहुमुखी अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सम्हालेका छन्।
उद्घाटन खेलमै साविक विजेतालाई पराजित गर्दै काठमाण्डुले आत्मविश्वास मजबुत बनाएको छ। टिमले नेपाली राष्ट्रिय टिमका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाइसँग प्रशिक्षण पाएको छ, जसले टोलीलाई थप सुदृढ बनाएको छ।
नामिबियाका कप्तान जेरार्ड एरासमससहित इंग्ल्याण्डका जोन सिम्पसन, बेन चाल्र्सवर्थ, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, अमेरिका मिलिन्द कुमार र भारतका सन्नी पटेल काठमाण्डुका विदेशी आधार हुन्। पहिलो खेलमा मिलिन्द कुमारको प्रदर्शन विशेष प्रभावशाली थियो।
कप्तान करण केसीसँगै मोहम्मद आदिल आलम, रशिद खान, भीम सार्की, आकाश त्रिपाठी, उत्तम मगर, सन्तोष यादव र प्रतिक श्रेष्ठ टोलीलाई मजबुत बनाउने खेलाडी मानिन्छन्। बलिङ विभागमा करणसँगै शाहव आलम, दीपेश कँडेल, नटराजन शाह र तुलबहादुर थापाको महत्वपूर्ण भूमिका रहनेछ।
एनपीएलको पहिलो सिजनको उपविजेता सुदूरपश्चिम यो सिजनमा पनि बलियो प्रतिस्पर्धीका रूपमा उभिएको छ। अघिल्लो सिजनका न्यूजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेइलिन र अमेरिकाका हर्मित सिंहलाई यस वर्ष पनि कायम राखिएको छ। यससँगै अस्ट्रेलियाका जोश ब्राउन र क्रिस लिनलाई विदेशी खेलाडीका रूपमा समावेश गरिएको छ।
कप्तान ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत, नरेन साउद र दीपेन्द्र थापा समेटिएका छन्। बलियो स्क्वाड रहे पनि सुदूरपश्चिमको प्रमुख आधार कप्तान ऐरी नै रहने देखिन्छ।
एनपीएलका सबै खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमै हुनेछन्। क्यानले प्रत्येक खेलमा ९ हजार ४५० टिकट बिक्रीमा ल्याउने जनाएको छ।
लिग मंसिर १ देखि २७ गतेसम्म चल्नेछ। कुल ३२ खेलमध्ये लिग चरण, तीन प्लेअफ र फाइनल समेटिएका छन्।
टिकट मूल्य:
शनिवार: साधारण ५००, प्रिमियम १५०० अन्य दिन: साधारण ५००, प्रिमियम १००० प्लेअफ: जनरल १०००, प्रिमियम २००० सिजनल टिकट: १५,०००
एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गरिरहेका छन्।
