वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच नवौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ।
बैठक २६–२८ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा सम्पन्न भएको हो।
बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण, अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत रोकथाम, सूचना तथा तालिम आदान–प्रदान, संयुक्त सीमा गस्ती तथा समग्र सीमा सुरक्षालाई मजबुत बनाउने विषयमा दुई सुरक्षा निकायबीच विस्तृत छलफल भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
साथै, २०८१ मंसिरमा काठमाडौंमा सम्पन्न आठौँ समन्वयात्मक बैठकबाट पारित एजेन्डाको समीक्षा गर्दै तिनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उपायमाथि विचार–विमर्श गरिएको थियो। बैठकले आगामी रणनीति तथा सहकार्यका क्षेत्रबारे पनि सहमति बनाएको छ।
बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघलले नेतृत्व गरेका थिए।
समन्वयात्मक बैठकमा सहभागी हुन महानिरीक्षक अर्यालसहित सीमा सुरक्षा विभाग प्रमुख अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेतलगायतको टोली २५ कात्तिकमा भारत प्रस्थान गरेको थियो।
बैठक सम्पन्न भएपछि महानिरीक्षक अर्यालसहितको नेपाली टोली २९ कात्तिकमा स्वदेश फर्किएको सशस्त्र प्रहरीले जनाएको छ।
