आज:  | Mon, 04, May, 2026

जम्मु–कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी कार्यालयभित्र विस्फोट

Avatar photo दिशा निर्देश ३० कार्तिक २०८२, शनिबार ०८:२६ मा प्रकाशित (५ महिना अघि)

काठमाण्डौ । जम्मु–कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी कार्यालयभित्र शुक्रबार अबेर राति शक्तिशाली विस्फोट भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विस्फोटमा प्रहरी र स्थानीय गरी धेरैको मृत्यु भएको बताइएको छ।

भारतीय अनलाइन हिन्दुस्तान टाइम्सका अनुसार घटना बेलामा प्रहरी र फरेन्सिक विशेषज्ञहरूको टोली हरियाणाको फरिदाबादबाट बरामद गरिएको विस्फोटक पदार्थको नमूना परीक्षण गरिरहेको थियो। सोही क्रममा विस्फोट भएको बताइएको छ। हिन्दुस्तान टाइम्सले मरिनेको संख्या ९ जना जनाएको छ।

त्यस्तै टाइम्स अफ इन्डियाका अनुसार विस्फोटमा ६ जनाको मृत्यु, २४ जना प्रहरी र ३ जना स्थानीय घाइते भएका छन्।

प्रहरी कार्यालय परिसरमा रहेका थुप्रै सवारीसाधनमा क्षति पुगेको छ। विस्फोटपछि दमकल टोली घटनास्थलमा खटाइएको र सुरक्षाका लागि प्रहरी स्टेशनतर्फ जाने सबैहरू मार्ग बन्द गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

घटनासँग सम्बन्धित पृष्ठभूमिमा, अघिल्लो हप्ता फरीदाबादका दुई भाडाको कोठाबाट २ हजार ९०० किलो अमोनियम नाइट्रेटसहित बम बनाउन सकिने ठूलो परिमाणको सामग्री बरामद गरिएको थियो। ती कोठा जम्मु–कश्मीरका पुलवामाका ३५ वर्षीय चिकित्सक डा. मुजम्मिल शकीलले भाडामा लिएका थिए, जो अल–फलाह मेडिकल कलेजमा अध्यापन गर्थे।

डा. मुजम्मिल दुई हप्ता अघि पक्राउ परेका थिए। उनका बयान र डिजिटल प्रमाणका आधारमा प्रहरीले ‘ह्वाइट कलर टेरर मोड्युल’ नाम दिएको एउटा आतंकवादी सञ्जाल सक्रिय रहेको खुलासा गरेको छ। अनुसन्धानकर्ताका अनुसार उक्त मोड्युल मुजम्मिल शकील गनाई, उमर नबी र मुजाफ्फर राथरले सञ्चालन गरिरहेका थिए।

नोभेम्बर १० मा दिल्लीमा भएको कार विस्फोटमा पनि यही समूहको संलग्नता रहेको अनुसन्धानमा खुलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


सम्बन्धित खबरहरु