वीरगञ्ज । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि समय पाँच दिन थप गरेको छ।
आयोगले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा हाल देखिएको उत्साहजनक सहभागिता, भीड व्यवस्थापन र सेवाग्राहीको सहजताका लागि दर्ता अवधि मंसिर ५ गतेसम्म थप गरिएको उल्लेख छ। यसअघि आयोगले कात्तिक ३० गतेसम्म समय निर्धारण गरेको थियो।
प्रधानमन्त्री सुशीला कार्कीले पनि हिजो आयोगलाई दर्ता अवधि थप्न आग्रह गर्नुभएको थियो। आयोगको पछिल्लो विवरणअनुसार अहिलेसम्म दुई लाख ५७ हजार पाँच सयभन्दा बढी नयाँ मतदाताले नाम दर्ता गराइसकेका छन्।
आयोगका अनुसार थप गरिएको अवधिमा राष्ट्रिय परिचयपत्र भएको नागरिकले अनलाइनमार्फत आवेदन गर्न सक्नेछन्। तर राष्ट्रिय परिचयपत्र नम्बर नभएकाले शनिबार आवेदन गर्न नपाउने आयोगले स्पष्ट गरेको छ। यद्यपि, पहिले नै आवेदन दर्ता गरिसकेकाले भने आज सम्बन्धित निर्वाचन कार्यालयमा गई जैविक विवरण (फोटो तथा औँठाछाप) दिन सक्नेछन्।
नागरिकको सहजताका लागि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई शनिबार पनि पूर्ववत रूपमा जैविक विवरण सङ्कलन सेवा सञ्चालन गर्न निर्देशन दिइएको आयोगले जनाएको छ। राष्ट्रिय परिचयपत्रका विवरणका आधारमा नाम दर्ता गर्न मिल्ने व्यवस्था भएपछि अनलाइनमार्फत आवेदन दिनेहरूको चाप पछिल्ला दिनमा झनै बढेको आयोगको भनाइ छ।
