वीरगञ्ज । मधेस प्रदेश खेलकुद परिषद्ले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा बिहीबार जनकपुरधाममा प्रभातफेरी आयोजना गरेको छ।
प्रभातफेरी जनकपुरधामस्थित रेल्वे स्टेशनबाट सुरु भई कदमचोक, जनकचोक हुँदै जानकी मन्दिरमा पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा परिषद्काका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा विभिन्न खेल संघका प्रतिनिधिहरूको उपस्थित रहेको थियो।
मधेस खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानुका अनुसार परिषद्ले मधेसका प्रत्येक नागरिकलाई खेलकुदसँग जोड्ने उद्देश्यका साथ विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। उनका अनुसार, गत एक वर्षमा परिषद्ले प्रदेश सरकारको योजनाअन्तर्गत विविध प्रतियोगिता र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
कानुका अनुसार परिषद्ले आगामी दिनमा खेलाडीहरूको व्यक्तित्व विकास, पारिश्रमिक र भत्ता व्यवस्थापनका साथै प्रतियोगिता र प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
‘खेलकुदले समाजलाई सभ्य र स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने, ‘यस क्षेत्रमा प्रदेश सरकारले अझै पर्याप्त गम्भीरता देखाउन सकेको छैन।’
सदस्य–सचिव कानुले परिषद्को नाममा बैंक खाता सञ्चालनमा नआएकाले खेलकुदसम्बन्धी गतिविधि सञ्चालनमा कठिनाइ भइरहेको जानकारी पनि दिएका छन्।
