वीरगञ्ज । वीरगञ्जको एक किराना पसलबाट लागू औषध गाँजासहित पसल सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति वीरगञ्ज महानगरपालिका–३२ चोर्नीका खेदु महतो धानुक हुन्।
चोर्नीस्थित धानुकको किराना पसलबाट गाँजा बिक्रीवितरण भइरहेको गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले पसलमा खानतलासी गरेको थियो। सो क्रममा पसल पछाडिको कोठामा ड्रमभित्र लुकाएर राखिएको अवस्थामा ८ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएपछि पसल सञ्चालक धानुकलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए।
पक्राउ परेका धानुकविरुद्ध लागू औषध सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनलाई प्रहरी हिरासतमा राखी पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
