आज:  | Mon, 04, May, 2026

सूर्य नेपालको कर्मचारी भन्दै १७ लाखभन्दा बढी ठगी गर्ने तीनजना पक्राउ

Avatar photo दिशा निर्देश २८ कार्तिक २०८२, बिहीबार १०:३७ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । सूर्य नेपाल प्रालिको कर्मचारी भएको भनी विभिन्न व्यापारीलाई ठगी गर्ने तीनजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा वीरगञ्ज–२४ का २८ वर्षीय राजु सर्राफ, वीरगञ्ज–१९ का ४० वर्षीय रामराउत कुर्मी र वीरगञ्ज–३२ टेटा घर भई हाल हेटौँडा उपमहानगरपालिका–१० टिसनरोडमा डेरा गरी बस्ने ४० वर्षीय नितेशकुमार केशरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले आफूलाई सूर्य नेपाल प्रालिको कर्मचारी भनेर हेटौँडाका व्यापारीहरूलाई अनलाइनमार्फत सामान अर्डर गर्ने र रकम बुझाएको देखिने नक्कली बैंक भौचर व्हाट्सएपमार्फत पठाउने गरेका थिए। व्यापारीहरूले सामान वीरगञ्ज पठाएपछि मात्र ठगी भएको थाहा पाएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी पुष्कार बोगटीका अनुसार उनीहरूले विभिन्न समयमा व्यापारीहरूबाट १७ लाख ८७ हजार रुपैयाँ बराबरका सामान ठगी गरेका थिए।

पक्राउ परेका तीनजनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु