वीरगञ्ज । नेपाल प्रहरीको कमाण्ड आजदेखि नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सम्हालेका छन्। प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएका थिए।
सरकारको मङ्सिर २५ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको थियो। आज बिहान गृहमन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि उनले प्रहरी प्रधान कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
कार्कीले यसअघि विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। जेनजी आन्दोलनका बेला (२४ भदौ) उनले उपत्यका प्रहरीको कमाण्ड सम्हालेका थिए। त्यसअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागका प्रमुख थिए। डीआईजीका रूपमा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरेका थिए भने एसएसपी हुँदा काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुख रहँदा चर्चित भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो।
कार्की इमान्दार, अनुशासित र पेशागत दक्ष प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनले फिल्डदेखि आईजीपी सचिवालयसम्मको अनुभव हासिल गरेका छन्। कुनै पनि ठूला आर्थिक विवादमा नजोडिएका उनी विदेशमा विभिन्न सुरक्षा र प्रशासनिक तालिम लिइसकेका छन्।
नेपाल प्रहरीको प्रवक्ता समेत रहेका कार्कीले चुनौतीपूर्ण जिम्मेवारीहरूमा प्रभावकारी नेतृत्व प्रदान गर्दै आएको सहकर्मीहरू बताउँछन्।
