आज:  | Mon, 04, May, 2026

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

Avatar photo दिशा निर्देश २५ कार्तिक २०८२, सोमबार १९:०६ मा प्रकाशित (५ महिना अघि)

 

वीरगञ्ज । नेपाल सरकारले एआईजी दानबहादुर कार्कीलाई  नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। उक्त जानकारी सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले दिएका छन्।

कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्। प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा हुन लागेको कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्। त्यसअघि नै सरकारले नयाँ प्रहरी प्रमुखको रूपमा कार्कीलाई नियुक्त गरेको हो।

कार्कीले गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा उपत्यकाको कमाण्ड सम्हालेका थिए। त्यसअघि उपत्यकामा एआईजीविहीन अवस्था रहेको समयमा उनले नेतृत्व ग्रहण गरेका थिए। उपत्यका कमाण्ड सम्हाल्नु अघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागका प्रमुख थिए।

डीआईजीका रूपमा कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए। त्यसभन्दा अघि एसएसपीको जिम्मेवारीमा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चर्चामा आएको थियो।

चुनौतीपूर्ण मानिने काठमाडौं जिल्ला र उपत्यकाको कमाण्ड सम्हाल्दै आएका कार्कीलाई इमानदार, अनुशासित र जिम्मेवार प्रहरी अधिकृतको रूपमा चिनिन्छ। कुनै ठूलो आर्थिक विवादमा नपरेका उनीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्मको लामो अनुभव छ।

विदेशमा विभिन्न प्रशिक्षण र तालिम लिएका कार्की नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताका रूपमा पनि कार्यरत रहिसकेका छन्। संगठनभित्र उनी व्यावसायिकता, स्थिर नेतृत्व र इमानदारीको प्रतीकका रूपमा पहिचान बनाएका छन्।


सम्बन्धित खबरहरु