आज:  | Mon, 04, May, 2026

मधेश प्रदेशकी प्रदेश प्रमुख भण्डारीद्वारा बर्दिवासको होटलमा मुख्यमन्त्री नियुक्ति

Avatar photo दिशा निर्देश २५ कार्तिक २०८२, सोमबार ०७:३३ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहानै बिरामी भएको कारण जनाउँदै जनकपुरबाट काठमाडौंका लागि प्रस्थान गरेकी थिइन्। बिहान करिब ४ बजे उनी जनकपुरस्थित प्रदेश प्रमुखको निवासबाट निस्किएकी हुन्।

त्यसअघि कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई भेटेर शीघ्र स्वास्थ्यलाभको शुभकामना दिँदै बिदाई गरेका थिए।

तर केही घण्टापछि, प्रदेश प्रमुख भण्डारी बर्दिवासस्थित होटल पानस कटेज पुगेकी र त्यहीँबाट संविधानको धारा १६८(३) बमोजिम एमालेका संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी) लाई मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको पुष्टि भएको छ।

बर्दिवासको कालापानीस्थित उक्त होटलमा सोमबार बिहान ५ बजेर २० मिनेटमा यादवले मुख्यमन्त्रीको शपथ लिएका थिए। त्यही अवसरमा एमाले सांसद लखन दास तत्मा, नेपाल संघीय समाजवादी पार्टीकी सांसद बिमला अंसारी र राप्रपाकी सांसद कंचन बिच्छाले विना विभागीय मन्त्रीको शपथ ग्रहण गरेका छन्।

यसअघि, कांग्रेससहित सात दलले संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गर्न दबाब दिइरहेका थिए। सो क्रममा, एमालेले भने संविधानको धारा १६८(३) अनुसार ठूलो दलको हैसियतमा सरकार गठन हुनुपर्ने माग गर्दै जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालय अगाडि प्रदर्शन गरेको थियो।

आइतबार साँझ मात्र प्रदेश प्रमुख भण्डारीले नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा, नेकपा (एस), जनमत र जसपाका सांसदहरूसँग भेट गरी केही विज्ञहरूसँग परामर्श गरेर निर्णय लिने बताएकी थिइन्। तर सोमबार बिहान उपचारका लागि काठमाडौं जाने बहानामा उनी जनकपुरबाट निस्केर बर्दिवास पुगेकी र त्यहीँबाट मुख्यमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाएकी थिइन्।

रातारात होटलमा कार्यालय स्थापना गरी मुख्यमन्त्री नियुक्ति गरिएको घटनापछि प्रदेश प्रमुख भण्डारीको चर्को आलोचना भइरहेको छ। विपक्षी दलहरूले यसलाई संविधानको मर्मविपरीतको निर्णय भन्दै प्रश्न उठाएका छन्।


सम्बन्धित खबरहरु