वीरगञ्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले गृहमन्त्रालय अत्यन्त संवेदनशील स्वभावको भएकोले यहाँबाट भइरहेका कतिपय कार्यबारे सार्वजनिक गर्न नसकिने बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्तव्य व्यक्त गर्दै उनले भनेका छन्, “गृहमन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौँ भन्न पनि मिल्दैन, के गर्यौँ भन्नु त झनै सम्भव हुँदैन।”
उनका अनुसार, सरकारका जिम्मेवार व्यक्तिहरूले आफ्नो शुद्ध चित्त र सद्भावनासहित कर्म गर्दै जानेबाहेक अर्को विकल्प छैन। उनले जनतालाई कार्यकालको अन्त्यसम्म धैर्य गर्न आग्रह गर्दै भनेका छन्, “कार्यकालको अन्त्यमा हामी जनतालाई धैर्यताका लागि धन्यवाद भन्नेछौँ।”
गृहमन्त्री अर्यालले पाइलैपिच्छे सुशासनको बाटो समात्दै देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्याउने वर्तमान सरकारको जिम्मेवारी पूरा गर्ने दृढ प्रतिबद्धता पनि जनाएका छन्।
