आज:  | Sun, 03, May, 2026

प्रचण्डको प्रस्ताव : सबै कमिटी भंग, मंसिरमा विशेष महाधिवेशन

Avatar photo दिशा निर्देश ५ आश्विन २०८२, आईतवार १५:३८ मा प्रकाशित (७ महिना अघि)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै कमिटी भंग गरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

आज बसेको पदाधिकारी बैठकमा उनले हालका सबै कमिटीलाई आयोजक समितिमा रुपान्तरण गरी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।

पदाधिकारी बैठकबाट पारित भएको यो प्रस्ताव अब केन्द्रीय समितिमा पेस गरिनेछ । एक पदाधिकारीका अनुसार, केन्द्रीय समितिको बैठकले यसबारे अन्तिम निर्णय गर्नेछ ।

‘अध्यक्ष प्रचण्डले सबै कमिटी भंग गरेर आयोजक समितिमा रुपान्तरण गर्ने र मंसिरमा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चुन्ने प्रस्ताव राख्नुभएको छ,’ ती पदाधिकारीले जानकारी दिए ।

प्रचण्डले केन्द्रीय समिति बैठक एक हप्ताभित्रै बोलाउने तयारी पनि गरेका छन् ।

यसअघि, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ पक्षले हालको नीति र नेतृत्व असफल भएको दाबी गर्दै विशेष महाधिवेशनको माग गर्दै आएको छ । जेनजी युवा आन्दोलनपछि यो माग झन् तीव्र बनेको छ । शर्मा पक्षले अध्यक्ष प्रचण्डलाई राजीनामा दिएर नयाँ नेतृत्वका लागि बाटो खोलिदिन समेत आग्रह गर्दै आएको छ ।


सम्बन्धित खबरहरु