आज:  | Sun, 03, May, 2026

बर्दिवासमा शेखर कोइराला पक्षधरहरूको प्रदेशस्तरीय भेला सम्पन्न

Avatar photo दिशा निर्देश ११ श्रावण २०८२, शनिबार १८:२८ मा प्रकाशित (९ महिना अघि)

वीरगन्ज, १० साउन – नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला पक्षधरहरूको प्रदेशस्तरीय भेला शनिबार महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ।

बर्दिवासस्थित रेड क्राउन होटलमा आयोजित उक्त भेलामा मधेस प्रदेशका आठै जिल्लाबाट शेखर पक्षधर नेताहरूको सहभागिता रहेको थियो। आसन्न १५औं महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको यो भेला मधेसमा कोइराला पक्षको पहिलो औपचारिक प्रदेशस्तरीय जमघट हो।

भेलाको अध्यक्षता मधेस प्रदेश सरकारका पूर्वमन्त्री रामसरोज यादवले गरेका थिए भने पर्साका नेता तथा पूर्व संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा महाधिवेशनमा शेखर पक्षको विजयी रणनीति, संगठन सुदृढीकरण, जिल्लास्तरीय संरचना मजबुत बनाउने गृहकार्यलगायत विषयमा विस्तृत छलफल भएको थियो। सहभागी नेताहरूले मधेसमा शेखर पक्षलाई अझ सशक्त बनाउने प्रस्तावहरू पनि प्रस्तुत गरेका थिए।

त्यस्तै, बैठकमा कांग्रेसको वर्तमान सांगठनिक अवस्था, संघ, प्रदेश र स्थानीय सरकारको कामको मूल्यांकन तथा मधेसमा बढ्दो खडेरी र जलस्रोत व्यवस्थापनको चुनौतीबारे पनि बहस भएको पर्साका युवा नेता मनोहर साहले जानकारी दिए।

भेलामा बोल्दै पूर्व संविधानसभा सदस्य अमात्यले कोइरालालाई सिद्धान्तमा अडिग र दूरदर्शी नेता भन्दै अहिले कांग्रेसको नेतृत्वमा उहाँजस्तो व्यक्तित्वको खाँचो रहेको बताए। “मधेसमा कांग्रेसको इतिहास र विरासत फर्काउन शेखर पक्ष एकजुट हुनु जरुरी छ। यो भेला त्यसको प्रारम्भ हो,” उनले जोड दिए।

उनले मधेस र मधेसी जनताको गहिरो समझदारी राख्ने नेताका रूपमा शेखर कोइरालालाई केन्द्रमा पुर्‍याउन दृढ समर्थन गरिएको स्पष्ट पारे।

भेलामा संविधानसभा सदस्य लक्ष्मण राय, रामचन्द्र चौधरी, नरेश प्रसाई, केन्द्रिय सदस्य डा. चन्दमोहन यादव, प्रतिनिधि देवराज चालिसे, नेता गुरुराज घिमिरेलगायत सहभागी थिए। पर्साबाट संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, अजय द्विवेदी, प्रदेशसभा सदस्य श्याम पटेल, नेपाल महिला संघकी केन्द्रिय सदस्य सुष्मा तिवारी लगायत नेताहरू उपस्थित थिए।


सम्बन्धित खबरहरु