काठमाडौं — राष्ट्रियसभा बैठक एक साताका लागि स्थगित भएको छ। बुधबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक जेठ १४ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराए।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गरेको ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको थियो।
त्यस्तै, बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ पनि टेबुल गरिएको छ। सो विधेयक राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले प्रस्तुत गरेका थिए।
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गरिन्।