खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताएका छन् ।
खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी एवं सरसफाइ उपभोक्ता महासङ्घ (फेडवास)द्वारा संयुक्त रुपमा आयोजना गरिएको ‘खानेपानी तथा सरसफाई पैरवी राष्ट्रिय शिखर सम्मेलन’मा मन्त्री यादवले यस्तो बताएका हुन् ।
उनले सरकारले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रयास गरिरहेको जानकारी दिए ।
उनले भने, ‘खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्याङ्क अनुसार करिब २७ प्रतिशत नेपालीले मात्र सुरक्षित खानेपानीको पहुँच पाएका छन् । यसको मतलब अहिले पनि करिब ७३ प्रतिशत नेपाली नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न बाँकी छ। यसलाई सोह्रौँ योजनाको अन्त्यसम्ममा ४५ प्रतिशत पुर्याउनका लागि ठोस् नीति, पर्याप्त बजेट, र दिगो योजना आवश्यक छ।’
खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी तथा सरसफाइ क्षेत्रले जलवायु परिवर्तन, सीमित बजेट, र जनसङ्ख्याको वृद्धि जस्ता चुनौतीको सामना गरिरहेको बताए।