अब्दुल कलाम हुसेन /वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको भवन निर्माणका लागि दबाब दिन थालिएको आन्दोलनका समर्थन बढ्दै गएका छन् । नारायणी अस्पतालका चिकित्सक, नर्स एवम् स्वास्थ्यकर्मीहरुले थालेको आन्दोलनप्रति नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साले पनि ऐक्यबद्धता जनाएको छ ।
नेविसंघ पर्साका अध्यक्ष ई.रमेश यादवको नेतृत्वमा नारायणी अस्पताल पुगेको टोलीले संघर्ष समितिका संयोजक डा. निरज सिंहलाई ऐक्यबद्धता पत्र बुझाएका हुन् । स्वास्थ्य जस्तो समवेदनशील क्षेत्रलाई ढिलाई गरेर अन्यौल गर्ने कार्य कदापी सह्य नहुने अध्यक्ष यादवको भनाई छ ।
डा. सिंहले भवन निर्माणको प्रक्रिया अन्यौलमा हुँदा पूर्वाधारको अभावमा उपचार सेवा प्रभावित भइरहेको बताए । गरिब एवम् विपन्न बिरामीलाई बेड नभएर फिर्ता गर्नुपर्ने अवस्थाको अन्त्यका लागि पनि भवन निर्माण जरुरी रहेको डा. सिंहको भनाई छ ।