वीरगञ्ज – जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बुधबारबाट वीरगञ्जमा जारी छ ।
वीरगञ्जको नगरसभागृहमा जारी बैठकको उद्घाटन सत्रमा पार्टीका अध्यक्ष उपेन्द्र यादवदेखि केन्द्रीय कार्यकारीणी समितिका सदस्यहरुले आ–आफ्ना मन्तव्य राखे ।
पार्टीका राष्ट्यि अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जारी बैठकमा पार्टीका सहअध्यक्ष अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, महम्मद इस्तियाक राई, मृगेन्द्र राय यादव, प्रदीप यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी लगायत बहुमत केन्द्रीय सदस्यहरुको सहभागिता छ ।
बैठकमा संघीय परिषद् अध्यक्ष रहेका डा.बाबुराम भट्टराईसहित उनको समूह भने अनुपस्थित रह्यो ।
बैठको उद्घाटन सत्रमा मन्तव्य राखेका पार्टी अध्यक्ष यादवसहितका अधिकांस सदस्यहरुले बैठकमा अनुपस्थित डा.बाबुराम भट्टराईबिरुद्ध गाली गर्नमै खर्चिएका छन् ।
बैठकमा बोल्ने सदस्यहरुले भट्टराईले पार्टीलाई बिभाजन गर्न खोजेको भन्दै कारबाही गर्नुपर्ने आवाज नै उठाए । अध्यक्ष यादवले पार्टीको नीति, विधि र पद्धति विपरित हिँड्ने जो कोही पनि कारबाहीको भागिदार हुने भन्दै भोली त्यसबारेमा निर्णय हुने बताए ।
भुलचुक सुधार्दै पार्टीमै फर्कन आग्रह गर्दै गर्दा अध्यक्ष यादवले अनुशासन र विधि उल्लंघन गर्नेलाई कारबाही गर्न नछाडिने भनेर चेतावनी पनि दिन भ्याए ।
पार्टीको कार्यकारिणी समितिबाट निर्णय गरेर वीरगञ्जमा केन्द्रीय समितिको बैठक बसेको भन्दै उनले जो कसैले बोलाउँदैमा केन्द्रीय समितिको बैठक आधिकारी नहुने बताए ।
कार्यकर्तालाई भ्रमित पार्ने काम भइरहेको भन्दै उनले कोही पनि भ्रममा नपर्न पनि आग्रह गरे । यस्तै पार्टीका सहअध्यक्ष अशोक राईले डा.भट्टराईले बेइमानी गरेर पार्टीको व्यानर दुरुपयोग गरिरहेको बताए ।
वीरगञ्जमा बैठक बोलाएकै दिन पारेर काठमाण्डौमा भ्रम छर्न पार्टीकै व्यानर प्रयोग गरी बैठक बोलाएर समूहको भेला राख्नु डा.भट्टराईको बेइमानी भएको उनको दावी थियो ।
नयाँ पार्टी गठनका लागि भनेर भेला बोलाउनु स्वभाविक हुने भए पनि जसपाको व्यानर राखेर भेला बोलाउनु पार्टीको नीति र विधि विपरित भएको उनको भनाई थियो ।
पार्टी छाडेर जो कोही पनि जान सक्ने भन्दै उनले कोही पनि जेलमा बसेको कैदी जस्तो नभएको पनि उनले स्पष्ट पारे ।
आफैले निर्माण गरेको, बनाउँछु भनेर अगाडी सरेको मान्छे अहिले पछाडी हट्नु आफ्नो लागि दुःखको कुरा भएको पनि उनले बताए ।
यस्तै पार्टी कार्यकारिणी सदस्य समेत रहेका कृषि मन्त्री मृगेन्द्र राय यादवले किचकिच गरिरहने, बखेडा झिकिरहनेलाई पार्टीमा राख्नै नहुने भन्दै भट्टराईलाई यही बैठकबाट निष्कासन गरेको निर्णय गर्नु पर्ने माग राखे । “किचकिच गरिरहने, बखेडा झिकिरहनेलाई पार्टीमा राख्नु हुँदैन,” उनले भने, “त्यस्तालाई निकालिदिनुपर्छ ।”
यस्तै पूर्व मन्त्रीसमेत रहेका पार्टीका कार्यकारिणी सदस्य रकम चेम्जोङले भट्टराई सिद्धान्तमा निष्ठावान व्यक्ति ठानिएको भए पनि उनको गतिविधि त्यस्तो नपाएको बताए ।
बैठकलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार मन्त्री रहेका पार्टीका कार्यकारिणी सदस्य महम्मद इस्तियाक राईले पटक पटकको भेटमा भट्टराईले नीति, सिद्धान्तका बारेमा आफूहरुलाई भन्ने गरेको भए पनि उनी आफै अहिले त्यसको विपरित समूहको भेला गर्दै हिडेको आरोप लगाए ।
पूर्व मन्त्री रामसहाय यादवले कोही कसैले पार्टी छाड्दैमा पार्टीलाई कुनै नोक्सानी नहुने बताउन पुगे । “अहिले छुट्टिन खोज्नेहरु आफ्नो रोटी सेक्न र मकसद पुरा गर्न पार्टीमा जोडिएका थिए, उनीहरुको योजना सफल नभएपछि बाहिरिन खोजेको हुन्, उनीहरु बाहिरिँदैमा पार्टीलाई कुनै फरक पर्दैन,” उनले भने ।
बाबुराम भट्टराईप्रति इंगित गर्दै उनले पार्टीको नीति विपरित गुटको भेला गर्दै हिँड्ने जो सुकै भए पनि उसलाई कारबाही गर्नु पर्ने माग राखे ।
उनले भने, “पार्टीको नीति विपरित जो गुटको बैठक गर्दै हिँड्छ त्यो जो भए पनि उसलाई कारबाही गर्नु पर्छ । विगतमा पनि भएकै हो अहिले पनि हुनु पर्छ ।”
कारबाहीको विषयमा पार्टीको यही बैठकले कठोर निर्णय लिन हिच्किचाउन नहुने उनको भनाई थियो ।
मधेस प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पार्टीका नेता लालबाबु राउत गद्दीले समूहको भेला गर्दै हिँड्नु भट्टराईको पार्टी विपरितको हर्कत भएको बताए ।
एउटा निश्चित लक्ष्य लिएर हिँडेको पार्टी विचैमा फुटको संघारमा पुग्नु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले पार्टीले आफ्नो लक्ष्य भने नछाड्ने बताए ।
यस्तै वन तथा वातावरण मन्त्री प्रदीप यादवले पार्टी झन झन बलियो बन्दै गएको भन्दै आउँदो निर्वाचनमा झनै बढी स्थानमा जीत हात पारेर अघि बढ्ने बताए ।
