आज:  | Sun, 03, May, 2026

बाबुराम भट्टराईले बेइमानी गरे : अशोक राई

Avatar photo दिशा निर्देश २९ असार २०७९, बुधबार १७:३१ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – जनता समाजवादी पार्टीका सहअध्यक्ष अशोक राईले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बेइमानी गरेको आरोप लगाएका छन् ।

वीरगञ्जमा जारी पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले वीरगञ्जमा बैठक बोलाएकै दिन पारेर काठमाण्डौमा भ्रम छर्न पार्टीकै व्यानर प्रयोग गरी बैठक बोलाएर समूहको भेला राख्नु डा.भट्टराईको बेइमानी भएको बताएका हुन् ।

नयाँ पार्टी गठनका लागि भनेर भेला बोलाउनु स्वभाविक हुने भए पनि जसपाको व्यानर राखेर भेला बोलाउनु पार्टीको नीति र विधि विपरित भएको उनको भनाई थियो ।
पार्टी छाडेर जो कोही पनि जान सक्ने भन्दै उनले कोही पनि जेलमा बसेको कैदी जस्तो नभएको पनि स्पष्ट पारे ।

“जेलमा बसेको कैदीले सजाय भुक्तान नगरेसम्म बाहिर निस्कन नसक्ने जस्तो अवस्था होइन पार्टी,” उनले भने, “कसैको विचार फेरियो, बुद्धि फेरियो भने उसले पार्टी त्याग्न सक्छ ।”

तर जसपामै छु भन्ने आभास गर्ने गरी पार्टीको व्यानर दुरुपयोग गरेर समानान्तर पार्टी चलाउन खोज्नु गलत भएको उनको भनाई थियो ।

आफैले निर्माण गरेको, बनाउँछु भनेर अगाडी सरेको मान्छे अहिले पछाडी हट्नु आफ्नो लागि दुःखको कुरा भएको पनि उनले बताए ।


सम्बन्धित खबरहरु