वीरगञ्ज – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले पार्टी फुटको संघारमा पुग्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
वीरगञ्जमा जारी जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पार्टीका नेतासमेत रहेका गद्दीले यस्तो बताएका हुन् ।
संविधानसभाबाट २०७२ मा जारी भएको संविधान सबैलाई स्वीकार्य बनाउने उदेश्यसहित अघि बढिरहँदा पार्टी फुटको संघारमा पुग्नु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले पार्टीले आफ्नो लक्ष्य भने नछाड्ने बताए ।
“पार्टीभित्र फरक मत उब्जन्छ, समस्या हुन्छन्, यो हरेक पार्टीमा हुन्छ” उनले भने “तर आएका समस्या समाधान गर्ने विधि र प्रक्रिया छ, त्यो बाट भागेर छलेर त हुँदैन नी ।”
पर्टीभित्र देखिएको समस्या समाधान गर्न पार्टी अध्यक्षसहित हेडक्वाटर बनाइएको स्मरण गराउँदै उनले त्यहीँबाट समाधान गरेर अघि बढ्नु पर्नेमा गुटगत भेला गर्दै हिँड्नु पार्टी नीति विपरित रहेको बताए ।
वीरगञ्जमा चलिरहेको बैठक नीति र विधी अनुरुप चलिरहेको भन्दै उनले काठमाण्डौमा डा.बाबुराम भट्टराईले गरेको बैठक भने नीति हित विपरित स्वार्थ समूहको बैठक भएको उनको भनाई थियो ।
पार्टीको बैठक बोलाउने अधिकार अध्यक्षलाई रहेको भन्दै उनले कसैले कहीँ बोलाउँदैमा त्यो बैठक आधिकारिक हुन नसक्ने उनको भनाई थियो ।
