आज:  | Sun, 03, May, 2026

गच्छदारलाई इंगित गर्दै बाबुरामलाई झटारो, कसैले छाड्दैमा पार्टीलाई कुनै हानी हुँदैन : रामसहाय यादव

Avatar photo दिशा निर्देश २९ असार २०७९, बुधबार १५:५० मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं पूर्व मन्त्री रामसहाय यादवले कोही कसैले पार्टी छाड्दैमा पार्टीलाई नोक्सानी नहुने बताएका छन् ।

वीरगञ्जमा जारी जनता समाजवादी पार्टीको केन्द्रीय कार्य समितिको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विगतमा पनि पार्टीबाट धेरै बाहिरिएको इतिहास रहेको भन्दै कुनै व्यक्ति बाहिरिदैमा पार्टीलाई कुनै क्षती नहुने बताएका हुन् ।

पार्टीमा जोडिएका सबै व्यक्ति पार्टीको राजनीतिक सिद्धान्त, विचारलाई मन पराएर मात्रै नभई आफ्नो रोटी सेक्ने र मकसद पुरा गर्ने उद्धेश्यले पनि जोडिन आउने गरेको भन्दै उनले त्यस्ता व्यक्तिहरु बाहिरिँदैमा पार्टीलाई केही नहुने स्पष्ट पारेका हुन् ।

“विगतका आन्दोलनमा सहभागि भएका मध्ये केही आफ्नो रोटी सेक्न र मकसद पुरा गर्नका लागि पनि आउने गरेको पाइएकै हो नि,” उनले भने, “जव उनीहरुको इच्छा पुरा नहुने देखे त्यसपछि उनीहरु बहिरि, त्यसैले अहिले पनि कोही व्यक्ति बाहिरिँदैमा पार्टी सकिने भन्ने हुँदैन ।”

यादवले विगतमा आफू ३५ वर्षदेखि सेवा गर्दै आएको थारुको बच्चा हुँ भन्दै सँगै सहयात्रा गर्न आएका व्यक्ति पनि पछि स्वार्थ पुरा नहुँदा बाहिरिएको उदाहरण पेश गरे ।

विजय कुमार गच्छदारप्रति इंकित गर्दै उनले भने, “पहिला पनि यस्तै गरी एक जना आएका थिए, म ३५ वर्षदेखि सेवा गरेको हुँ, थारुको बच्चा हुँ, म थारुको लागि मधेसीको लागि सेवा गर्छु भन्दै आएका थिए । तर पछि उनी गए । उनी जाँदा उनीसँग कति लिएर गए त ? त्यसैले पार्टीलाई नोक्सान भएको छैन ।”

पार्टीको नीति, विचार सिद्धान्तm दृष्टिकोण र लक्ष्य सबै स्पष्ट भएकाले यसमा कोही आए पनि गए पनि पार्टीलाई क्षती नहुने उनको भनाई थियो ।

तर पार्टीको नीति विपरित गुटको भेला गर्दै हिँड्ने जो सुकै भए पनि उसलाई कारबाही भने गर्नु पर्ने माग यादवले राखे ।

उनले भने, “पार्टीको नीति विपरित जो गुटको बैठक गर्दै हिँड्छ त्यो जो भए पनि उसलाई कारबाही गर्नु पर्छ । विगतमा पनि भएकै हो अहिले पनि हुनु पर्छ ।”

कारबाहीको विषयमा पार्टीको यही बैठकले कठोर निर्णय लिन हिच्किचाउन नहुने उनको भनाई थियो ।


सम्बन्धित खबरहरु