वीरगञ्ज – नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले संघ र प्रदेशको निर्वाचनका लागि तयारीमा रहन निर्देशन दिएका छन् ।
मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहनगर वीरगञ्ज आइपुगेका यादवले अब छिट्टै संघ र प्रदेशको निर्वाचनको मिति घोषणा हुने भएकाले त्यसका लागि तयारी रहन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री यादवले यही २९ र ३० गते पार्टीको केन्द्रीय कमिटीको बैठक वीरगञ्जमा बस्ने भएकाले कार्यक्रम सफल बनाउन आवश्यक गृहकार्यमा जुट्न पनि सबैलाई आग्रह गरे ।
‘केन्द्रीय कमिटीको बैठकमा हिमाल, पहाडदेखि तराई सबै स्थानका नेताहरुको सहभागिता हुन्छ,’ उनले भने, ‘वीरगञ्जमा हुन लागेको यो बैठक ऐतिहासिक बैठक हो, यो बैठकलाई सफल पार्न जिल्लाका नेता तथा कार्यकर्ता सक्रिय भएर गृहकार्यमा जुटौँ ।
मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र आफ्नो सम्बन्धका बारेमा पनि खुलेर कुरा गरे ।
उनले भने, ‘मेरो सक्रियतामा, मैले टिकट दिएर राजेशमान जीले मेयर जित्नु भयो, उहाँ मेयरमा विजयी भएको दुइ महिना नहुँदै म पनि मन्त्री हुने अवसर जुर्यो । राजेशमान जी मेरो भाग्यले मेयर बन्नु भयो, म उहाँको भाग्यले मन्त्री हुन पाएँ ।’
२०७४ मै आफू प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएको भए पनि अहिलेसम्म मन्त्री नबनेको र अहिले राजेशमान सिंहकै भाग्यका कारण मन्त्री बनेको उनको भनाइ थियो ।
यस्तै मन्त्री यादवले स्थानीय प्रहरी प्रशासनले पार्टीका कार्यकर्तालाई अनाहकमा दुख दिइरहेको भन्दै त्यस्तो नगर्न सचेत पनि गराए । उनले भने, ‘स्थानीय प्रहरी प्रशासनले कोही कसैलाई अनाहकमा दुख दिएको छ भने मलाई भन्नुहोस्, त्यसको समाधान म गर्छु ।’
आफू ऐन कानुनमै रहेर आफ्ना कार्यकर्ताको बचाउ गर्ने भन्दै उनले कानुन बाहिरको कुरा नगरेको पनि स्पष्ट पारे ।
कार्यक्रममा नवनियुक्त मन्त्री यादवलाई चाँदीको मुकुट र ५१ किलोको माला लगाएर भव्य स्वागत तथा सम्मान गरिएको थियो ।
पर्सा क्षेत्र नम्बर १ का सांसद यादव मन्त्री बनेर पहिलोपटक गृहजिल्ला आएपछि उनलाई चाँदीको मुकुट र ५१ किलोको माला लगाएर स्वागत गरिएको हो ।
जसपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री यादवलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले चाँदीको मुकुट लगाएर सम्मान गरेका हुन् भने पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका हुन् ।
यसअघि मन्त्री यादवले वीरगञ्ज घन्टाघरस्थित सहिद स्मारक पुगेर माल्यार्पण गरेका थिए ।
नगरसभागृहमा महानगरकमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा नवनियुक्त मन्त्री यादवसहित पर्सामा पार्टीको तर्फबाट स्थानीय तहको चुनावमा प्रतिष्पर्धा गरेर विजयी भएका जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।
महानगरकमिटी अध्यक्ष इश्वरचन्द्र यादवको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष रामनरेश यादव, विभिन्न पालिकाबाट निर्वाचित प्रतिनिधि, नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
