वीरगञ्ज – सर्वोच्च अदालतले विवादित निजगढ विमानस्थलबारे फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि प्रधानमन्त्रीसहित नेताहरु निजगढ आएका छन्। प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न बारा आएका प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले डेढ घन्टा यहाँ बिताएको छ।
बारामा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, वन मन्त्री रामसहाय यादव, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र खानेपानी मन्त्री उमकान्त चौधरी लगायत केही सांसद र नेताहरु आएका थिए।
बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उनीहरु काठमाडौंबाट निजगढ आएका थिए। टोलीले निजगढ विमानस्थलका साथै फास्ट ट्रयाकको अनुगमन गरेका थिए। निजगढस्थित सेनाको ब्यारेकमा उनीहरुले विमानस्थल कार्यालयका कर्मचारीहरुसँग विमानस्थलको बारेमा ‘ब्रिफिङ’ लिएका थिए। नेपाली सेनाले भने फास्ट ट्र्याकको प्रगतिबारे ‘ब्रिफ’ गरेको थियो।
ब्रिफिङपछि भ्रमण टोलीका सदस्यहरुले पर्यावरणको दृष्टिकोणले कमभन्दा कम क्षतिमा कसरी विमानस्थल बनाउनु पर्ने सरकारले प्रस्तावसहितको योजना ल्याउने बताए।
प्रधानमन्त्री देउवा र शीर्ष दलका नेताहरुले निजगढ विमानस्थल तथा फास्टट्रयाक जसरी पनि सरकारले बनाउने बताएका थिए। देश विकासका लागि यी दुईवटा आयोजना महत्वपूर्ण भएकाले जसरी पनि बनाउनतर्फ सरकार केन्द्रित रहेको उनीहरुले बताएका थिए।
प्रधानमन्त्री सहितको टोली आजै १२: ३० बजे काठमाडौं फर्किएको छ।
