वीरगञ्ज – बालबालिका माथि हुने हिंसा अन्त्यका लागि नेपाल बाल संगठन पर्साले अभियान सुरु गरेको छ ।
संगठनले पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई विभिन्न सन्देश लेखिएका पर्चा हस्तान्तरण गर्दै अभियानको सुरुवात गरेको हो ।
अभियान अन्तर्गत ‘बाल श्रमको अन्त्य गरौँ, बालबालिकालाई विद्यालय पठाऔँ’, ‘बाल अधिकार विकासको आधार’, ‘समृद्ध राष्ट्रको मुल आधार सुरक्षा र मुस्कानसहितको बाल अधिकार’ लगायत विभिन्न नारा अंकित पर्चा, पम्प्लेट तथा स्टिकर वितरण गरिने बाल संगठन पर्साका सभापति रामकिशोर सिंह ‘पराग’ले जानकारी दिए ।
अभियानको बुधबार आज पहिलो दिन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र घरेलु तथा साना उद्योगको कार्यालय हातामा बाल अधिकार उल्लिखित स्टिकर टाँसिएको छ । कोभिड संक्रमणको संभावना अझै रहेकाले मास्क अनिवार्य प्रयोग गरौँ भन्ने सन्देश पनि स्टिकरमा रहेको छ ।
आजबाट सुरु गरिएको अभियान जिल्लाका १४ वटै स्थानीय तहका प्रतिनिधिमार्फत जिल्लाभर गरिने संगठनका सचिव हेमन्त तामाङले बताए ।
यसका साथै वीरगञ्ज बजारमा पनि कार्यक्रम गरेर बाल अधिकारका बारेमा जानकारी दिनुका साथै स्वास्थ्यका लागि मास्क लगाउन सचेतना कार्यक्रम गरिने तामाङले जानकारी दिए ।
