आज:  | Fri, 01, May, 2026

सामाजिक क्षेत्रमा कृयाशील चाैगाई बिपिसी कलेजद्वारा सम्मानित

Avatar photo दिशा निर्देश १२ आश्विन २०७८, मंगलवार १८:४९ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – वीरगञ्ज पब्लिक कलेज (बिपिसी) ले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम अझै जारी छ । कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अध्ययनमा उत्प्रेरित गर्ने अभिप्रायले आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आज २ जनालाई सम्मान गरिएको छ ।

कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर दिपक शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान दिएको भन्दै वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई र बिपिसी कलेजमै पढेर स्थापित भएका हिमाल आईरनका निर्देशक फिरोज आलमलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

सम्मान ग्रहणपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै युवा अभियान्तासमेत रहेका चौगाईले शिक्षण सिकाईको क्रममा सामाजिक कार्यलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

राष्ट्रका मेरुदण्ड भनिने युवाहरु नै परिवर्तनका संवाहक भएको बताउँदै चौर्गाइले समयको विकाससँगै आफुलाई पनि परिवर्तन र परिस्कृत गर्नुपर्ने बताए । वीरगञ्जका लागि पानी र जवानी खर्चिएको बताउँदै चौगाईले विकास निर्माणमा भइरहेको ढिलासुस्ती र अनियमितताको विरुद्धमा खबरदारी गर्ने जिम्मेवारी पनि युवाकै भएको बताए ।

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले सरकारी जागिर मात्रै नभएर अरुलाई पनि रोजगार दिने अभिप्रायले व्यवसाय सञ्चालन गरेर पनि सफल हुन सक्ने धारणा राखे ।

कार्यक्रममा एन आई सी बैंककी पुजा खेतान, जेसिस वीरगञ्जका पूर्व अध्यक्ष सन्तोष खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।


सम्बन्धित खबरहरु