वीरगञ्ज – सुरक्षित गर्भपतनका बारेमा जानकारी नहुँदा अझै पनि महिलाहरु असुरक्षित रुपमा गर्भपतन गराउने गरेको पाइएको छ । पछिल्लो तथ्यांक अनुसार गर्भपतन गराएकामध्ये झण्डै ५८ प्रतिशत महिलाले असुरक्षित रुपमा गर्भपतन गराउने गरेको पाइएको हो ।
सन् २००२ देखि सुरक्षित गर्भपतनको व्यवस्था गरिएको भए पनि अझैसम्म यसबारे जनसाधारणमा जानकारी हुन नसकेकोमा सहभागिहरुले चिन्ता व्यक्त गरे ।
यस्तै कतिपयले गर्भपतनलाई परिवार नियोजनको रुपमा लिँदा समस्या आएको भन्दै यो सेवा अपर्झट र भैपरी आएका बेला विकल्पको रुपमा मात्रै प्रयोग हुने सेवा भनेर बुझ्नु आवश्यक रहेको बताए ।
अन्तर्राष्ट्रि सुरक्षित गर्भपतन दिवसका अवसरमा वीरगञ्जमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण महतोले गएको आर्थिक वर्ष २०७७/०७८ मा वीरगञ्जका सूचीकृत विभिन्न स्वास्थ्य संस्थाबाट ७ सय ७८ जनाले सुरक्षित गर्भपतन गराएको जानकारी दिए ।
सूचीकृत गरिएकोमध्ये ओम हस्पिटल र नारायणी अस्पतालबाट तथ्यांक प्राप्त नभएको भन्दै उनले मेरिस्टोप्स र जनकल्याण स्वास्थ्य संस्थामा गएर ७ सय ७८ जनाले सुरक्षित गर्भपतन गराएको बताए ।
कार्यक्रममा प्रसूती रोग विशेषज्ञ डा.प्रिती यादवले समस्या आएपछि मात्रै युवायुवतीहरु चिकित्सकको परामर्शमा आउने भन्दै पहिल्यै यसबारेमा बुझ्न भने खासै नआउने गरेको बताए ।
यस्तै अभियन्ता डा.सुष्मा तिवारीले आफ्नो सानै उमेरमा विहे भएको र त्यसबेला जानकारी अभावमा असुरक्षित तरिकाले गर्भपतन गराउँदा र निकै समस्या झेल्नुु परेको भन्दै आफ्नो कथा सुनाए ।
कार्यक्रममा मेरिस्टोप्स वीरगंजका सुरेश ठाकुरले युवायुवतीलाई लक्षित गरेर युथ रुम बनाइएको भन्दै मेरिस्टोप्समा सुरक्षित गर्भपतनको सेवा सहजै लिन सकिने बताए ।
यस अघि भएको उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी, पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुन लगायतले सुरक्षित गर्भपतनको बारे अझै पनि गाउँगाउँका महिलाहरुलाई बुझाउन नसकिएको भन्दै चेतनामूलक कार्यक्रमको खाँचो रहेको औल्याएका थिए ।
युवा नामक गैरसरकारी संस्थाको आयोजना र संस्कृतिको सहकार्यमा भएको कार्यक्रमको सहजिकरण विवेक कर्णले गरेका थिए ।
भिडियाे
