आज:  | Mon, 27, Apr, 2026

केपी ओलीको हठ, घमण्ड र अहङ्कारले मुलुक डुबाउँदै आजपा अध्यक्ष साह

Avatar photo दिशा निर्देश ११ आश्विन २०८२, शनिबार १७:३६ मा प्रकाशित (७ महिना अघि)

सर्लाही । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि दोष लगाउँदै भनेका छन् कि ओलीको हठ, घमण्ड र अहङ्कारले न केवल नेकपा (एमाले) लाई, झन् देशलाई पनि ठूलो क्षति पुर्‍याएको छ। शनिबार आजपा मधेस प्रदेश कमिटीको बैठक तथा दसैँ, दीपावली र छठ पर्वको शुभकामना कार्यक्रममा अध्यक्ष साहले सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिन ओलीलाई सुझाव दिनुभयो।

साहले भन्नुभयो  “ओलिको हठ, घमण्ड र अहङ्कारले मुलुक जलेको छ। युवाहरूको भावना बुझ्नुभन्दा उनीहरूलाई नै प्रहार गर्नुभयो। गुण्डाहरूलाई स्कन्दलमा भेला गर्नुको साटो सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिनु नै एमाले र मुलुक दुवैको हितमा हुन्छ।”

उहाँले वर्तमान सरकारका केहि कार्यकर्ताहरूको घरबाट पैसा फेला परेको र नोट जल्ने घटनाबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग पनि गर्नु भयो। साथै हालको सरकारले जनआन्दोलनका सहिद परिवारलाई प्रतिनिधित्वमा स्थान दिनुपर्ने जोड दिँदै, “यो सरकारले जेनजी आन्दोलनका सहिद परिवारको प्रतिनिधित्व हुनुपर्छ” भन्नुभयो।

प्रधानमन्त्री सुशीला कार्कीलाई पनि अध्यक्ष साहले चेतावनी दिनुभयो  युवाहरूको आक्रोसले उत्पन्न जनविद्रोहलाई कलङ्कित नबनाउने र त्यसप्रति संवेदनशील हुन सरकारलाई अनुरोध गर्नुपर्छ। उहाँले थप्नुभयो, “यदि देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता सुरक्षित राख्ने काम प्राथमिकता नबनेको खण्डमा हामी सचेत हुनुपर्ने अवस्था आएको छ।”

अध्यक्ष साहले वर्तमान संविधानकै ढाँचामा समस्या समाधान नहुन सक्छ भनेर औँल्याउनु भयो र अन्तरिम सरकार तथा अन्तरिम संविधानबाटै निकास खोज्ने धारणा व्यक्त गर्नुभयो। साथै, देश लुटेर सम्पत्ति विदेश लग्ने नेताहरूविरुद्ध छाना छाना रूपमा कडा सामना गर्नुपर्ने टिप्पणी पनि उहाँको भाषणमा समावेश थियो।

साहले नेपाली सेनाको सक्रियता र राज्यविहीनता झल्किने हालको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने  “राजनीतिक मुद्दामा सेना केन्द्रित हुनु खुशीको कुरा होइन” र देश अहिले अनिश्चयको बादलमा रहेको बताउनुभयो। उहाँले नेताहरूले देशप्रति निष्ठा नदेखाएको स्थिति भए पछिल्लो एक महिनादेखि देश राज्यविहीनताको स्थितिमा पुगेको उल्लेख गरे र पार्टीका नेता तथा कार्यकर्तालाई सतर्कता र तयारी अवस्थामा रहन निर्देशन दिनुभयो।


सम्बन्धित खबरहरु