वीरगञ्ज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरूलाई केवल दर्शक नभई परिवर्तनको नेतृत्वकर्ता बन्नुपर्नेमा जोड दिएकी छन्। वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको ‘बृहत महिला सम्मेलन–२०८२’ उद्घाटन गर्दै उनले महिलाको उद्यमशीलतालाई देशको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको बताइन्।
भण्डारीले भनिन्, “महिलाले अघि बढ्दा केवल आफू सफल हुँदैनन्, उनीहरूको यात्रा राष्ट्रको अर्थतन्त्रलाई बलियो बनाउने आधारशिला हुन्छ।” उनले महिलाहरूले आत्मबल बटुलेर समाजका असमानता, पूर्वाग्रह र अवरोध तोड्नुपर्नेमा जोड दिँदै, “परिवर्तन आफैंबाट सुरु हुन्छ” भन्ने सन्देश दिइन्। आत्मनिर्भर अर्थतन्त्र र महिला नेतृत्व पूर्व राष्ट्रपति भण्डारीका अनुसार नेपालको भविष्य आत्मनिर्भर अर्थतन्त्रमा निहित छ, जसमा महिलाको सक्रियता अपरिहार्य छ।
कृषिमा आधारित उद्योग, जडिबुटी, आयुर्वेद, साना तथा मझौला उद्यम, पर्यटन र प्रविधि क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्ने उनको भनाइ थियो। “अब महिलाले नेतृत्व लिनुपर्छ, उद्यम सञ्चालन गर्नुपर्छ र समाजलाई रूपान्तरण गर्ने दायित्व लिनुपर्छ,” उनले स्पष्ट पारिन्।
सम्मान र सन्देश कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नारीहरू अझै पनि विभेद र कठिनाइसँग जुधिरहनु परेको बताए। “यो सम्मेलन महिलाको आवाजलाई सबल बनाउन एक महत्वपूर्ण प्रयास हो,” उनले जोड दिए। महिला उद्यमशीलता विकास समितिकी सभापति डा. लक्ष्मी गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले विभिन्न क्षेत्रमा योगदान पुर्याएका २५ जना महिलालाई दोसल्ला र सम्मानपत्र प्रदान गरिन्। भविष्यका लागि आशाको दियो आयोजकहरूको विश्वास छ, यो सम्मेलनले महिला नेतृत्व, उद्यमशीलता र समान अवसरप्रतिको आवाजलाई सशक्त बनाउँदै आगामी नीति निर्माणमा नयाँ स्वर दिन्छ।
