जनकपुर । मधेस प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा भवनमा बस्ने बैठक चालू अधिवेशनको दोस्रो कार्यसूचीअन्तर्गत हुनेछ।
यसअघि बिहीबारदेखि प्रदेश सभाको छैटौँ अधिवेशन सुरु भएको थियो। तर, बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलहरूले अर्थमन्त्री सुनिल यादवको राजीनामाको माग गर्दै अवरोध सिर्जना गरेपछि शुक्रबारको बैठक सभामुख रामचन्द्र मण्डलले स्थगित गरेका थिए।
अर्थमन्त्री यादवले चालू आर्थिक वर्षको बजेटमा २९४ पृष्ठ लामो योजना लुकाएर पारित गराएको आरोप लगाउँदै प्रतिपक्षले सदन सञ्चालन हुन नदिएको हो। उनीहरूको भनाइमा, यस विषयमा स्पष्ट जवाफ र अर्थमन्त्रीको राजीनामा नआएसम्म सदन अगाडि बढ्न सक्दैन।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले पनि अर्थमन्त्री पदमा निरन्तर रहँदासम्म सदन सञ्चालन असम्भव हुने चेतावनी दिएका छन्।
