वीरगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल–भारत सीमाञ्चललाई कानुनी वा दुईदेशीय सम्बन्धभन्दा अलग विशेषतायुक्त क्षेत्रमा परिभाषित गर्दै त्यसबारे उदार छलफल आवश्यक रहेको बताएका छन्।
शनिबार वीरगञ्जमा प्रदीप गिरि इन्स्टिच्युटले आयोजना गरेको “नेपाल, भारत र सीमाञ्चल: युवा, संस्कृति र पहिचानको राजनीति” विषयक सत्रलाई सम्बोधन गर्दै उनले सीमावर्ती नेपाली युवाहरूले अब ज्ञानमा आधारित अर्थतन्त्रतर्फ सोच्नुपर्ने समय आएको बताए।
“भारतले सूचना–प्रविधि क्षेत्रमा ठूला उपलब्धि हासिल गरेको छ। हामीले सही कदम चाल्न सकेमा दुवै देशलाई साझा फाइदा हुने सम्भावना प्रशस्त छ,” महामन्त्री थापाले भने। उनले सीमाञ्चलका युवाले सूचना–प्रविधिमा दक्ष भएर भारतीय बजारमा व्यवसाय विस्तार गर्न सक्ने उल्लेख गरे।
तराई–मधेशमा शिक्षा र पोषणको कमीका कारण प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको भन्दै उनले स्थानीय सरकारहरूलाई सडक वा भौतिक पूर्वाधारभन्दा बढि विद्यालय शिक्षा र पोषणस्तर सुधार्न जोड दिन आग्रह गरे।
त्यस्तै उनले सीमाञ्चलमा व्यापार–व्यवसाय र आवतजावत सहज बनाउन दुवै देशले आफ्ना सुरक्षा चासो सम्बोधन गर्दै उदार छलफल अघि बढाउनुपर्ने बताए। “दुवै देशको समृद्धि र सुमधुर सम्बन्धका लागि वृहत्त सीमाञ्चल सम्मेलन अपरिहार्य छ। प्रदीप गिरि इन्स्टिच्युटले यसको पहल गर्नुपर्छ भन्ने मेरो चाहना छ,” उनले भने।
कार्यक्रममा भारतीय जनता दल (युनाइटेड) का नेता तथा सांसद सुधाकर सिंहले पनि सीमाञ्चलका मुद्दा साझा रहेको उल्लेख गर्दै नेपाल–भारत दुवैले आपसी समझदारीका साथ लाभ उठाउनुपर्ने बताए। उनले पानीलाई दुबै देशका लागि बरदान भन्दै यसको सही उपयोगमा समझदारी आवश्यक रहेको धारणा राखे।
जलवायु परिवर्तनले दुवैतर्फका जनतालाई असर पुर्याइरहेकाले दोषारोपणभन्दा सहकार्यतर्फ लाग्नुपर्नेमा जोड दिँदै सिंहले नेपालले सूचना–प्रविधि र मेडिकल शिक्षा क्षेत्रमार्फत अर्थतन्त्र मजबुत बनाउन सक्ने विश्वास व्यक्त गरे। उनले भारतीय विद्यार्थीहरू नेपालमा सस्तो दरमा गुणस्तरीय मेडिकल शिक्षा पाइरहेको र यसबाट दुवै देशलाई लाभ भइरहेको बताए।
प्रदीप गिरिको सीमाञ्चल सम्मेलन गर्ने चाहना पूरा गर्न आफू सधैं तत्पर रहेको उनले प्रतिवद्धता जनाए।
कार्यक्रम तीन सत्रमा सम्पन्न भएको थियो। पहिलो सत्रमा नागरिक समाजका अगुवा हरि शर्मा, पत्रकार चन्द्रकिशोर, अध्येता भाष्कर गौतम र विश्लेषक सुचेता प्याकुरेलले प्रदीप गिरिबारे आफ्ना अनुभव प्रस्तुत गरेका थिए। दोस्रो सत्रमा भारतीय कांग्रेसका नेता मोहन प्रकाश, नेकपा माओवादी केन्द्रका नेता राम कार्की र अध्येता कैलाश राईले गिरिको सामाजिक–राजनीतिक जीवनबारे चर्चा गरे।
उद्घाटन सत्रमा कांग्रेस केन्द्रीय सदस्य अनिल रूंगटा, वरिष्ठ अधिवक्ता सुधिर कर्ण, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्रदीप गिरिका सहोदर शेखर गिरि लगायतले अनुभव बाँडेका थिए।
यसै अवसरमा प्रदीप गिरिका दर्शन, दृष्टिकोण र विचारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित भदौ ३ गते गठन भएको प्रदीप गिरि इन्स्टिच्युटले आगामी दिनमा सीमाञ्चल सम्मेलन गर्ने योजना अघि सारेको संस्थापक अध्यक्ष कञ्चन झाले जानकारी दिए।
