आज:  | Sun, 26, Apr, 2026

गौर हत्याकाण्ड छानबिनबारे सर्वोच्चको आदेशविरुद्ध वीरगञ्जमा जसपाको विरोध प्रदर्शन

Avatar photo दिशा निर्देश ५ भाद्र २०८२, बिहीबार १५:२१ मा प्रकाशित (८ महिना अघि)

वीरगञ्ज । सर्वोच्च अदालतले गौर हत्याकाण्ड छानबिनका लागि परमादेश जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध प्रदर्शन गरेको छ।

अदालतको आदेशलाई राजनीतिक प्रतिशोध र मधेश आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रको रूपमा व्याख्या गर्दै जसपाका कार्यकर्ताले बिहीबार वीरगञ्जको घण्टाघरमा नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवलगायतका नेताहरूले गौर हत्याकाण्डको मुद्दा पुनः उठाइनु भनेको पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक रूपमा कमजोर पार्ने प्रयास भएको आरोप लगाए। उनीहरूले सर्वोच्चको कदमलाई राजनीतिक पूर्वाग्रहले प्रेरित भएको भन्दै प्रतिवाद गर्ने चेतावनी पनि दिए।

जसपाका शीर्ष नेताहरूले अदालतको निर्णयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै यसको विरोधमा देशव्यापी आन्दोलनको तयारी भइरहेको जनाएका छन्। साथै, मधेश आन्दोलनका उपलब्धि जोगाउन र नेताहरूको सुरक्षाका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन्।


सम्बन्धित खबरहरु