वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर हत्याकाण्डबारे सर्वोच्च अदालतको आदेशको पूर्णपाठ नआइसकेको अवस्थामा पनि अध्यक्ष उपेन्द्र यादवलाई जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाएको छ ।
पार्टी प्रवक्ता मनिष सुमनले जारी गरेको विज्ञप्तिमा अदालतको आदेशमा यादवको नाम नजोडिएको भए पनि पूर्वाग्रही ढंगले समाचार सम्प्रेषण भइरहेको भन्दै असन्तुष्टि जनाइएको छ । जसपाले सो घटनाबारे तत्कालीन सरकारले उच्चस्तरीय समिति, राष्ट्रिय मानव अधिकार आयोग र संयुक्त राष्ट्रसंघीय निकायले समेत अनुसन्धान गरिसकेको उल्लेख गर्दै, यस विषय राजनीतिक भएकाले समाधान पनि राजनीतिक शक्तिबाट खोजिनुपर्ने तर्क गरेको छ ।
तर, सर्वोच्च अदालतको आदेशअनुसार निष्पक्ष अनुसन्धान भएमा पार्टीलाई आपत्ति नहुने स्पष्ट गर्दै जसपाले भ्रामक प्रचारमा विश्वास नगर्न र अदालतको आदेशविरुद्ध गतिविधि नगर्न नागरिकलाई अपिल गरेको छ ।
यसैबीच, सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान गर्न परमादेश जारी गरेपछि संघीय लोकतान्त्रिक मोर्चाले आकस्मिक बैठक आह्वान गरेको छ । आज साँझ बस्ने बैठकमा गौर हत्याकाण्ड, रुपन्देही–३ उपनिर्वाचनको तयारी र उपसभामुख हटाउने विषयमा छलफल हुने जनाइएको छ ।
मोर्चामा आबद्ध जसपाका अध्यक्ष यादवलाई घटनाको योजनाकारका रूपमा हेरिने भएकाले मधेश केन्द्रित दलहरूमा तरंग देखिएको छ । रुपन्देहीमा नाउपाको उम्मेदवारी खारेज भएपछि स्वतन्त्र उम्मेदवारलाई सघाउने विषय र उपसभामुख हटाउने प्रक्रियामा मोर्चाको भूमिकाबारे पनि बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ ।
