वीरगञ्ज । नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेटमा आज त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दुई महत्वपूर्ण खेल हुँदैछन्। बिहान सवा ११ बजे हुने पहिलो खेलमा लगातार जितको लयमा रहेको सुदूरपश्चिम रोयल्स र प्लेअफ सुनिश्चित गरिसकेको विराटनगर किंग्स आमनेसामने हुँदैछन्।
लगातार ६ खेलमा विजय हात पारेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शीर्षस्थानमा छ र यस संस्करणमा अहिलेसम्म अपराजित रहेको एक मात्र टोली हो। उता, विराटनगरले ६ खेलमध्ये ४ मा जीत र २ मा हार ब्यहोर्दै ८ अंकसहित तालिकाको तेस्रो स्थान ओगटेको छ। काठमाडौँ गोर्खाज १० अंकसहित दोस्रो स्थानमा छ।
दिउँसो साढे ३ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछन्। यी दुवै टोली प्लेअफबाट बाहिरिएका छन्। ६ खेलमा २ जित र ४ हारसहित चितवन तालिकाको छैटौँ स्थानमा छ भने ६ खेलमध्ये ४ खेल हारेको पोखरा २ अंकसहित पाँचौँ स्थानमा छ।
पोखरा र चितवनसँगै कर्णाली र जनकपुर पनि यस संस्करणका लागि प्लेअफ समीकरण बाहिर भएका छन्।
