वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनर्वाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागू औषध नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार इनर्वास्थित पोखरीको डिलमा बेवारिसे अवस्थामा फेला परेको एउटा प्लास्टिकको बोराभित्र राखिएको ११ हजार ६८ पिस नाइट्राभेट ट्याब्लेट बिहीबार बिहान बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर वीरगञ्जबाट खटिएको टोलीले उक्त बोरालाई खोलेर जाँच गर्दा ७ सय ३८ पत्ता भित्र लुकाइराखिएको अवस्थामा नाइट्राभेट ट्याब्लेट फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानअनुसार बरामद लागू औषध भारतबाट तस्करी गरी ल्याउने क्रममा सुरक्षाकर्मीलाई देखेपछि तस्करले फालेर भागेको हुनसक्ने अनुमान सशस्त्र प्रहरीले गरेको छ ।
बरामद नाइट्राभेट ट्याब्लेट आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक योञ्जनले जानकारी दिनुभयो ।
