वीरगञ्ज – पर्साको ठोरीमा राष्ट्रिय वाणिज्य बैंकले एटीएम सेवाको सुरुवात गरेको छ ।
यहाँ एटीएम सेवा सुरु भएको यो नै पहिलो हो । राष्ट्रिय वाणिज्य बैंक एक्लैले यहाँका स्थानीयलाई सेवा दिँदै आइरहेको छ ।
बैंकमा चेकमार्फत मात्रै पैसा निकाल्नु पर्ने बाध्यात्मक अवस्थाले विदाका दिनमा समस्या पर्ने गरेको थियो । अब एटीएम सेवा सुरु भए पछि भने बैंकिङ कारोबार सहज हुने स्थानीयले विश्वास लिएका छन् ।
गाउँपालिकाको वडा नम्बर ५ मा बैंकले कार्यालय राखेर सेवा दिइरहेकै स्थानमा सोमबारबाट एटीएम सेवा पनि थप गरेको हो ।
सोमबार देखि सन्चालित एटीएम सेवाको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले उद्घाटन गरेका छन् ।
पर्सा जिल्लाको ग्रामीण भेगमा संचालित राष्ट्रिय वाणिज्य बैंकले ग्राहक थप हुँदै गएपछि उनीहरुको सुविधालाई मध्यनजर गर्दै एटिएम सेवा सन्चालनमा ल्याएको हो ।
ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै एटिएम सेवा संचालनमा आएपछि यस क्षेत्रका ग्राहकले बैंकमा धेरैबेर लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउने र कार्यालय समय भन्दा बाहेकका समयमा पनि ग्राहकले बैंकिङ सुविधा पाउने बैंकका सहायक प्रमुख प्रकाश कुमार बर्णवालले बताए ।
बाणिज्य बैंक सुवर्णपुरका शाखा प्रमुख यादव थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठोरी ५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन, सुवर्णपुरका पुर्व गाविस अध्यक्ष जरी लामा, सुवर्णपुरका अगुवा सुन लामा लगायतको उपस्तिथि रहेको थियो ।
