आज:  | Sun, 26, Jun, 2022

जगरनथपुर गाउँपालिकामा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन

दिशा निर्देश ४ जेष्ठ २०७९, बुधबार १५:३८ मा प्रकाशित (१ महिना अघि)

पर्साको जगरनथपुर गाउँपालिकामा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगका उपसचिव ऋषिराम भुषालले निर्वाचन अधिकृतको कार्यालय जगरनाथपुर गाउँपालिकालाई पत्रचार गर्दै रोकिएको मतगणना सुचारु गर्न निर्देशन दिएका हुन् ।

जगरनाथपुर गाँउपालिकामा नेकपा एमालेले बहिष्कार गरेपछि मङगलबार अपरान्ह देखि मतगणना रोकिएको छ ।
बुधबार निर्वाचन आयोगले मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र बदर गरी मतगणना कार्य सुचारु गर्न निर्देशन दिएको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिएका छन ।

निर्वाचन अयोगले मतपत्रमा हस्ताक्षर नगरी मतपत्र वितरण गर्ने सम्बन्धित मतदान अधिकृतलाई विभागीय कारबाहीका लागि सिफारिस गर्न पनि निर्देशन दिएको शर्माले बताए ।
आयोगको पत्र पाएसँगै मतगणना सुचारु गराउने तयारी समेत थालिएको शर्माले बताए ।
एमालेले मतगणनाका क्रममा मतपत्रमा काँग्रेसको रुख चिन्हमा मात्र स्वास्तकि छाप लगाएको र मतदानअधिकृतको हस्ताक्षर नै नभएको मतपत्र भेटिएको भन्दै एमालेले मङगलबार देखि मतगणना बहिष्कार गरेको छ ।

बुधबार बिहान वीरगन्जमा पत्रकार सम्मेलन नै गरेर एमाले नेता एंव गाँउपालिका निवर्तमान अध्यक्ष जालीम मियाँकोे समुहले मतदानकै बेला काँग्रेसले धाधली गरेको र त्यो कुरा मतगणना गर्ने क्रममा पुष्टि भएको बताएको थियो ।
पत्रकार सम्मेलनमा जालीमले भनेका थिए ,‘ एउटै तरिकाले ३ सय मतपत्रमा भोट खसालिएको छ, ५० भन्दा बढी मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नै छैन् ।’ उनले यस बारेमा छानबिन नगरिएसम्म आफुहरुले मतगणना बहिष्कार नै गरिने बताए ।
जगरनाथपुर गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ । वडा नम्बर १ मा कांग्रेसका लक्ष्मी साह तेली र वडा नम्बर २ पनि कांग्रेसकै नेपाली कुशवाहा वडाअध्यक्षमा निर्वाचित भइसकेका छन् ।


सम्बन्धित खबरहरु