प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलहरू मिलेरै चुनावमा जाने सङ्केत गर्नुभएको छ । बिहीवार वीरगञ्जमा नेपाली कांग्रेस पर्साका निर्वाचित पदाधिकारी र सदस्यहरुको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने स्पष्ट पारेका हुन् ।
नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले एक्ला एक्लै चुनाव लड्दा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनमा रहेका दलहरुसँग मिलेर चुनाव लड्ने बताए।
देउवाले भने ,‘अहिले एक्लै चुनाव लड्दा कुनै पनि दलले बहुमत ल्याउन सक्ने अवस्था देखिन्न, त्यसैले चुनावमा गठबन्धनका दलहरुसँग मिलेर कांग्रेसले चुनाव लड्नुपर्छ।’
उनले गठबन्धनका दलहरुसँग चिढ्याउने काम नगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
संविधानको रक्षा र लोकतन्त्रलाइ संस्थागत गर्न पनि गठबन्धनका दलहरु बीचको सहकार्य र एकता आवश्यक रहेको देउवाले बताए।
उनले दुवै छिमेकीसँग नेपालले समदुरी र सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्ने स्पष्ट पारे। कार्यक्रममा
पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियार नेपालीलाई नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
