बीरगन्ज,२८ माघ ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् ।
शुक्रबार बीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सत्तारुद गठबन्धनकाका नेता माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा अहिलेपनि अध्ययन नपुगेको र सुधार गर्नुपर्ने धेरै ठाउँ रहेकोले आँखा चिम्लेर एमसीसी पास गर्न निमिलने बताएका हुन् ।
नेकपा एमालेले एमसीसी फिर्ता गए माधव नेपाल दोषी हुने भन्ने विषयमा बोल्दै नेता नेपालले केपी ओली सिद्धान्त, संस्कार र कम्युनिष्ट आचरण नभएको देश बेचुवा भएको आरोप लगाउँदै उनीहरुले उठाएको प्रश्नको जवाफ दिन आवश्यक नरहेको उनको भनाई थियो ।
‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले एमसीसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसीसीको विरुद्धमा छ । जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ । यो पनि एउटा ठूलो चुनौति छ,’ उनले भने ।
नेता नेपालले एमसीसीको सन्दर्भमा ७ वटा विषयमा आफुहरुको असन्तुष्टि रहेको बताए । एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत पर्छ की पर्दैन, एमसीसी अमेरिकाको सुरक्षा रणनीतिअन्तर्गत छ कि छैन, एमसीसी मार्फत निर्माण गरिने ट्रान्समिसन, सडकको तलको भुभागमा नेपालको सार्वभौम अधिकार हुन्छ की हुँदैन, निर्माणको काममा लाग्दा चाहिने श्रमशक्ति नेपालीहरुले आफ्नो योग्यता क्षमता अनुसार हकको रुपमा प्रयोग गर्न पाउँछन् की पाउँदैन, एमसीसीबाट प्राप्त हुने बौद्धिक सम्पतिमा नेपालको अधिकार सुनिश्चित हुन्छ की हुँदैन, यसको लक्षापरिक्षण गर्ने अधिकार नेपालको अडीटर जेनरललाई हुन्छ की हुँदैन र अन्तिममा एमसीसी पारित गर्दा कालान्तरमा अमेरिकामा बन्ने कानुनको प्रभाव नेपालमा पर्छ की पर्दैन जस्तै ७ वटा विषयमा आफूहरु अहिले पनि प्रष्ट नरहेको बताए । सात वटा प्रश्नहरुको उत्तर पाएपछि छलफल गरेर हामीले एमसीसी बारेमा सोच्छौँ, उनले भने ।
उनले आगामी स्थानीय तहको निर्वाचनबाट नेकपा एस देशकै ठूलो पार्टीको रुपमा आउने दावी पनि गरे । संगठन विस्तार गर्ने समय नभएको कारण निर्वाचनसँगै संगठन विस्तार हुँदै जाने र स्थानीय तहको पालिकाहरुमा नेकपा एस पहिलो पार्टी बनेर आउने उनले बताए ।
समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा बीरगन्जको दियालो लर्डस प्लाजामा सम्पन्न भएको पत्रकार सम्मेलनमा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी,पोलिट व्युरो सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, पोलिट व्युरो सदस्य एवं बीरगन्ज महानगर इन्चार्ज चिरञ्जिवी अचार्य,सांसद सरला यादव, बीरगन्ज महानगर अध्यक्ष मनोज चौधरी, पार्टी लेखा आयोगका केन्द्रिय सदस्य किशोरी कुशवाहा, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज राघव साह लगायतको उपस्थिती रहेको थियो ।
