आज:  | Mon, 27, Apr, 2026

बार्सिलोनाले अंक बाड्यो, सोसिडाड तेस्रो स्थानमा

Avatar photo दिशा निर्देश ८ आश्विन २०७८, शुक्रबार ०९:१२ मा प्रकाशित (४ साल अघि)

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले कार्डिजसँग गोलरहित बराबरी खेल्दै तालिकामा एक अंक थपेको छ ।

बार्सिलोना ५ खेलबाट ९ अंक जोड्दै सातौं स्थानमा रहेको छ भने कार्डिज ६ खेलबाट ६ अंकसहित तालिकाको १४ औं स्थानमा रहेको छ । ६५ औं मिनेटमा फ्रेन्क डि जोङ रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि बार्सिलोना बाँकी समय १० खेलाडीले खेलेको थियो ।

ला लिगा अन्तर्गत रियल बेटिसले ओसासुनालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । एनरिक हेरमोसले २३ औं मिनेटमा गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा ओसासुनाका लागि किकेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

८० औं मिनेटमा गिमिनेज लोपेजले गोल गदै बेटिसको अग्रता २–१ बनाएका थिए भने दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा विलियन्स जोसेले टिमका लागि तेस्रो गोल गर्दै जित पक्का गरे । यो नतिजा पछि बेटिस ९ अंकसहित तालिकाको आठौं स्थानमा छ भने पराजित भएको ओसासुना ८ अंकसहित दशौं स्थानमा छ ।

ला लिगा अन्तर्गत नै अर्को खेलमा रियल सोसिडाडले ग्रानडालाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जितसँगै सोसिडाड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १३ अंक भएको छ ।
नवौं मिनेटमा ग्रानडाका लागि जर्मेन सान्सेजले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले परेको सोसिडाडले ५२ औं मिनेटमा बराबरी गोल गरेको थियो । उसका लागि आर्टिजले गोल गरेका थिए । ६० औं मिनेटमा माइकल मेरिनोले गोल गरेपछि सोसिडाड २–१ ले अघि बढेको थियो ।

७० औं मिनेटमा लुईस मिलाले पेनाल्टीमार्फत गोल गरेपछि ग्रानडाले खेल २–२ को बराबरीमा ल्याएको थियो । ८२ औं मिनेटमा आर्टिजले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै जित पक्का गरे ।


सम्बन्धित खबरहरु