आज:  | Mon, 11, May, 2026

वीरगञ्जका विभिन्न क्यासिनोमा छापा, ६ जना पक्राउ

Avatar photo दिशा निर्देश २८ बैशाख २०८३, सोमबार ०७:४४ मा प्रकाशित (१४ घण्टा अघि)

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जस्थित विभिन्न क्यासिनोमा अनाधिकृत रूपमा प्रवेश गरी जुवातास खेलिरहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा किंग क्यासिनो, फर्च्यून सिटी गेमिङ क्लब तथा क्यासिनो माहजोङमा छापामारी गरेको हो।

प्रहरीका अनुसार छापामारीका क्रममा क्यासिनोभित्र जुवा खेलिरहेको अवस्थामा भारतको बिहार राज्यका २६ वर्षीय गणेश कुमार, ३८ वर्षीय सन्दिप कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव, ३६ वर्षीय ओमप्रकाश यादव तथा वीरगञ्ज महानगरपालिका–३२ निवासी ३७ वर्षीय जमुदिन मियाँ अन्सारी पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट रु. ५०० बराबरको क्यासिनो सिक्का, नेपाली रुपैयाँ ५५५, भारतीय रुपैयाँ १२०० तथा दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


सम्बन्धित खबरहरु