वीरगञ्ज। पर्सा जिल्लाका दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई लक्षित गर्दै शैक्षिक तथा खाद्यान्न सामग्री वितरण गरिएको छ ।
बौधिसत्व बिहारको आयोजनामा पर्साको सखुवाप्रसौनी गाउँपालिका ३ कौवाबन र वीरगञ्ज महानगरपालिका १९ केहुनिया बिन्दबासनी गाउँमा रहेका दलित तथा विपन्न बालबालिकालाई विद्यालय ब्याग, कापी, कलम, चाउचाउ, बिस्कुट वितरण गर्नुका साथै भोजन गराइएको हो ।
संस्थाका संयोजक डाक्टर पिया रतन महर्जनले शिक्षा सबै बालबालिकाको मौलिक अधिकार भएकाले दलित तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न समाजका सबै पक्षले सहयोग गर्नुपर्ने बताए । उनले बौधिसत्व बिहारले पछिल्ला केही वर्षदेखि मधेश प्रदेशका विपन्न तथा सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य र मानवीय सेवामा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए ।
कार्यक्रम अन्तर्गत कौवाबन गाउँस्थित मुसहर बस्तीका १२० जना बालबालिकालाई कापी, कलम, चाउचाउ र बिस्कुट वितरण गरी भोजन गराइएको थियो । त्यसैगरी केहुनिया बिन्दबासनी गाउँका २ सय जना बालबालिकालाई विद्यालय ब्याग, कापी, कलम, चाउचाउ तथा बिस्कुट वितरण गरिएको आयोजकले जनाएको छ ।
दलित अभियन्ता मनोज रामका अनुसार यस्ता कार्यक्रमले दलित तथा सीमान्तकृत समुदायका बालबालिकामा विद्यालय शिक्षाप्रति उत्साह बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । उनले आगामी दिनमा पनि शैक्षिक तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पिसफोर दलित्स फाउन्डेसन नेपालका सचिव दिपेन्द्र राम, सदस्य बिनोद राम लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा संस्थाकी सुभद्र देवी थिन को जन्मदिन पनि बालबालिकासँगै मनाइएको थियो ।
