आज:  | Thu, 07, May, 2026

बंगलादेशमा हिन्दु युवकमाथि हिंसा : उज्यालो नेपाल पार्टी पर्साद्वारा दोषीलाई कारबाहीको माग

Avatar photo दिशा निर्देश ६ पुष २०८२, आईतवार ०९:४२ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पर्सा जिल्ला कार्यसमितिले बंगलादेशमा हिन्दु युवकमाथि भएको हिंसात्मक घटनाको कडा भर्त्सना गर्दै दोषीहरूलाई अविलम्ब कारबाही गर्न माग गरेको छ।

पार्टीका पर्सा जिल्ला संयोजक रामबाबु यादवले शनिबार साँझ जारी गरेको विज्ञप्तिमार्फत बंगलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि भइरहेको दमन, हिंसा र अमानवीय व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।

विज्ञप्तिमा उल्लेख गरिएको छ, “हालै बंगलादेशमा घटेको अमानवीय र दुःखद घटनाले सम्पूर्ण मानवता, सभ्यता तथा सामाजिक मूल्य मान्यतालाई नै चुनौती दिएको छ। उज्यालो नेपाल पार्टी पर्सा यस घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दछ।”

पार्टीले आफू मानव अधिकार, मानवीय मर्यादा र न्यायका पक्षमा प्रतिबद्ध राजनीतिक शक्ति भएको जनाउँदै कुनै पनि प्रकारको हिंसा, अन्याय, दमन र अमानवीय व्यवहार अस्वीकार्य रहेको स्पष्ट पारेको छ।

विज्ञप्तिमा पीडितप्रति गहिरो सहानुभूति प्रकट गर्दै दोषीहरूलाई कानुनको दायरामा ल्याई निष्पक्ष, स्वतन्त्र र पारदर्शी अनुसन्धानमार्फत कडा कारबाही गर्न सम्बन्धित निकायहरूसँग जोडदार माग गरिएको छ।


सम्बन्धित खबरहरु