आज:  | Thu, 07, May, 2026

प्रचण्डको असन्तुष्टि : ‘पार्टीभित्रको विवाद बाहिर लैजानु अनुचित’, जनार्दन शर्मा लक्षित

Avatar photo दिशा निर्देश १७ श्रावण २०८२, शुक्रबार १९:५४ मा प्रकाशित (९ महिना अघि)

काठमाडौं, साउन १६ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रका आन्तरिक विवादहरू सार्वजनिक गर्दै आएको भन्दै उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ प्रति असन्तुष्टि जनाएका छन्।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा एजेन्डा प्रस्तुत गर्दै प्रचण्डले पछिल्लो समय पार्टीभित्र देखिएको अन्तरविरोधबारे स्पष्ट धारणा राखेका थिए।

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले भने, “पार्टीभित्रको अन्तरविरोधबारे प्रभाकरजीले लगातार बाहिर अभिव्यक्ति दिँदै आउनुभएको छ, जसले पार्टीको हित गर्दैन। यस्ता गतिविधि तत्काल रोक्नुपर्छ।” उनले अन्य नेताहरूलाई पनि आ–आफ्ना कमजोरी महसुस गरी पार्टीलाई थप एकताबद्ध बनाउँदै लैजान आग्रह गरेका थिए।

पार्टीभित्रको विवाद पछिल्लो समय खुलेरै देखिन थालेको छ। असार ६ र ७ गते नेकपाका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा प्रचण्ड र शर्माबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप भएको थियो।

अर्का एक नेताका अनुसार प्रचण्डले पार्टीमा कम्युनिस्ट सिद्धान्तभन्दा स्वार्थ समूह हाबी भएको भन्दै चासो व्यक्त गरे। “पार्टीभित्र कम्युनिस्ट आचरणमा विचलन आएको छ। स्वार्थ समूहहरू बलियो बनेका छन्, यिनीहरूलाई विघटन गर्नुपर्छ,” बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले बताए।

यद्यपि, प्रचण्डले उपमहासचिव शर्माविरुद्ध कुनै कारबाही प्रस्ताव भने नदिएको ती नेताले बताए।

प्रचण्डले उठाएको एजेन्डामाथि शनिबारदेखि नेताहरूले धारणा राख्ने कार्यक्रम तय भएको छ। शुक्रबारको बैठकमा अरू नेताहरूले सो विषयमा प्रतिक्रिया नजनाएको बताइएको छ।

उता, उपमहासचिव हरिबोल गजुरेलले भने बैठकमा पार्टीभित्रको अन्तरविरोधबारे कुनै औपचारिक छलफल नभएको जिकिर गरेका छन्। उनका अनुसार बैठक पुनः शनिबार बिहान ११ बजे बस्नेछ।


सम्बन्धित खबरहरु