वीरगञ्ज। भोजपुरी सांगीतिक क्षेत्रमा पछिल्लो समय सार्वजनिक भएका गीत ‘जेकर पिया नाहीं घरे’ गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ । गायक रविराज साह र शिल्पी राजको स्वर रहेको गीत ८ दिनअघि रविराज साह अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा वैदेशिक रोजगारीका कारण श्रीमान विदेशमा रहँदा घरमा बस्ने श्रीमतीको पीडा, भावना र पारिवारिक अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारका कारण टाढिएका दम्पतीको सम्बन्ध, समाजको यथार्थ र महिलाले भोग्ने एक्लोपनलाई कथामार्फत देखाइएको भिडियोले धेरै दर्शकको मन छोएको छ ।
गीतका शब्द उमालाल यादवले लेखेका हुन् भने संगीत संयोजन शिशिर पाण्डेयको रहेको छ । भिडियो निर्देशनको सञ्जय सिंहले गरेका छन् । भिडियोमा रविराज साह, सिम्रन साह र धिरज कुमार साहको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियो हालसम्म युट्युबमा करिब ३४ हजार पटक मात्रै हेरिएको भए पनि कमेन्टमा दर्शकले खुलेर प्रशंसा गरिरहेका छन् । धेरैले भोजपुरी गीतमा बढ्दो अश्लिलता बीच यस्तो पारिवारिक र समाजको यथार्थ बोल्ने गीत आउनु सकारात्मक भएको बताएका छन् ।
एक दर्शकले कमेन्टमा लेखेका छन्, “यति राम्रो गीतको यति कम लोकप्रियता देखेर दुख लाग्यो, सायद अश्लिलता नभएकै कारण होला ।” अर्का एक दर्शकले “पहिलो पटक परिवारसँग बसेर भोजपुरी गीत हेर्न पाएँ” भन्दै प्रतिक्रिया दिएका छन् ।
गीतको बढ्दो चर्चासँगै दर्शकले युट्युबमा यस्ता सामाजिक सन्देश बोकेका गीतलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
गायक रविराज साहले आफूले समाजको यथार्थलाई गीतमार्फत चित्रण गर्ने प्रयास गरेको बताए । उनले भने, “आजको समाजमा वैदेशिक रोजगारी धेरै परिवारको बाध्यता बनेको छ । त्यसले परिवारभित्र कस्तो असर पारिरहेको छ भन्ने कुरा गीतमार्फत देखाउने प्रयास गरेका हौँ । दर्शकले दिनुभएको माया र सकारात्मक प्रतिक्रियाले अझ उत्साहित बनाएको छ ।”
यो गीत गायक साहको गृह नगर सर्लाहीको चन्द्रनगर गाउँपालिका क्षेत्रभित्रै छायांकन गरिएको छ । साहले आफ्ना गीत तथा सृजनामार्फत चन्दनगरलाई पनि चिनाउन महत्वपूर्ण योगदान पु-याएको भन्दै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सह्राना गरे । उनले अरुलाई पनि आफ्नो पालिकामा छायांकनका लागि आउन अपिल गरेका छन् ।
